राजविराज, २५ पुस । विगत साढे पाँच दशकदेखि अलपत्र रहेको राजविराज विमानस्थलको निर्माण कार्यले बल्ल यतिबेला तिब्रता पाएको छ ।
२०१६ सालमा तत्कालिन यातायात मन्त्री गणेशमान सिंहद्वारा उद्घाटन गरिएको उक्त विमानस्थलको निर्माण कार्य एक महिनादेखि तीब्र पारिएको हो । विमान स्थल निर्माणको जिम्मा पाएको कान्छाराम, रमण, देव एण्ड शायर जेभीले लिएपछि मंसिरदेखि निर्माण कार्य शुरु भएको छ ।
भ्याटसहित ३० करोडमा कम्पनीले ठेक्का लिएपछि अहिले माटो र सब बेसको कार्य शुरु गरिएको छ । यसपछि बेस र पिचिङ्गको कार्य गरिने कम्पनीका ईन्जिनियर मणी गोविन्द श्रेष्ठले जानकारी दिएका छन् ।
आगामी मंसिरसम्म सम्पूर्ण काम सम्पन्न गर्ने म्याद रहे पनि जेठ महिनाभित्रै काम सक्नकालागि आफूहरु प्रयत्नरत रहेको उनले बताए । ‘पिचिङ्गकालागि चैत्रदेखि जेठसम्मको समय उपयुक्त हुन्छ’ उनले भने ‘हामी त्यस अवधीभित्रै काम पुरा गर्ने प्रयासमा छौं ।’ उनका अनुसार यथाशक्य चाँडो निर्माण कार्य सम्पन्न गर्नकालागि आवश्यक उपकरण तथा जनशक्ति परिचालित रहेको छ । 
एक हजार पाँच सय मिटर लामो तथा ३० मिटर चौडा पक्की धावनमार्ग, ६० मिटर चौडा र ९० मिटर लामो एप्रोन तथा एक सय पाँच मिटर लामो र २० मिटर चौडा ट्याक्सी वे निर्माण गरिने इन्जिनियर श्रेष्ठले जानकारी दिए । उनका अनुसार धावनमार्ग निर्माण भईसकेपछि राष्ट्रियस्तरको जुनसुकै उडान बाह्रै महिना भर्न सकिनेछ । अन्तर्राष्ट्रिय स्तरको विमान सेवाकालागि आसपासका केही जग्गा आवश्यक पर्ने ई. श्रेष्ठले बताए ।
विमानस्थलको स्तरोन्नती पछि नियमित विमान सेवा शुरु हुने र जिल्लाको विकासमा समेत सकारात्मक परिवर्तन आउने सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधानले बताए । विकास निर्माणको दृष्टिकोणले सप्तरी पछाडि परेको अवस्थामा विमानस्थल सुचारु भईसकेपछि जिल्लाको समग्र विकासमा योगदान मिल्ने उनको भनाइ छ ।
विमानस्थलको स्तरोन्नतीकालागि जिल्ला विकास समिति सप्तरीले छुट्याएको रु २ करोड बजेटबाट हवाई मैदानको घेरवेर गर्ने काम समेत थालिएको छ । कच्ची धावनमार्ग भएका कारण उक्त विमान स्थलमा नियमित उडान हुन सकिरहेको थिएन । पञ्चायतकालमा काठमाण्डौ र खोटाङ्गको लामी डाँडासम्म विमान सेवा उपलब्ध हुने गरेको यो विमानस्थल करिब एक दशकदेखि पूर्णतः बन्द रहँदैआएको छ ।
यसैबीच सोमवारै सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रधानको नेतृत्वमा एक टोलीले विमानस्थलको निर्माण कार्यको अवस्थाबारे जानकारी लिएका छन् । उक्त टोलीमा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, संघीय प्रेस फोरम सप्तरीका अध्यक्ष श्यामसुन्दर यादव, संघका कार्यालय सचिव ललित झा, पत्रकार विद्यानन्द राम समेतका व्यक्तिहरु सहभागी थिए ।