राजविराज, २४ पुस । सप्तरीका शिक्षा अधिकारी दोलराज पाण्डेले जिल्लामा सञ्चालित बिना दर्ताका नीजि विद्यालयहरु बन्द गरिने बताएका छन् ।
प्याव्सनको २७औं स्थापना दिवसको अवसरमा सप्तरी प्याव्सनले आइतबार राजविराजस्थित आफ्नै भवनमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । जिल्लामा दर्ता भएका १ सय १० वटा मात्रै नीजि विद्यालय रहेको र बिना दर्ताका अत्यधिक रहेको बताउँदै शिक्षा अधिकारी पाण्डेले भने ‘पहिला दर्ता गराउनुपर्छ अनि मात्र सञ्चालन गरिनुपर्छ’ उनले भने, “तर पहिला सञ्चालन गरेर मात्रै दर्ताको प्रकृयामा आउने गरेको देखेको छु ।”
अब नीजि विद्यालय दर्ता गराउन बिभिन्न किसिमको प्रकृया पूरा गर्नुपर्ने बताउँदै उनले कक्षा १ को अनुमति लिन गुठीमै दर्ता गराउनुपर्ने बताए । गुठीको रुपमा क्षेत्रिय शिक्षा निर्देशनलायमा गएर दर्ता गराए कक्षा १ को अनुमित पाउन सकिन्छ’ उनले भने, ‘कक्षा ६ र ९ को अनुमती कम्पनी अनुसार मात्रै दिन मिल्छ ।’ यी दुबैको अनुमति लिने समय पुस मसान्तभित्रै रहेको उनले बताए ।
आफू यसअघि सप्तरीमा रहँदा २०६८ सालमा दर्ता भएका र बिना दर्ताका नीजि विद्यालयहरुबारे व्यापक प्रचार प्रसार गर्दै अभिभावकहरुलाई बिना दर्ताका विद्यालयमा भर्ना नगराउन आग्रह गरेको स्मरण गर्दै शिक्षा अधिकारी पाण्डेले भने, ‘त्यस बेला मैले जे जे गरेको थिएँ, अहिलेसम्म अवस्था त्यहीं छ, न त नयाँ विद्यालय दर्ता भएको छ, न त अभिभावकले बिना दर्तामा पढाउनै छाडेको छ ।’ शिक्षक महासंघका अध्यक्ष फुलेश्वर मण्डलले पनि दर्ता नरहेका नीजि विद्यालयहरु बन्द गराउनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै एन प्याव्सनका जिल्ला अध्यक्ष बौकु साहले नीजि विद्यालयहरु चन्दाको मार खेप्नुपरेको सुनाए ।
कार्यक्रमका प्रमुख अतिथी रहेका लुम्बिनी विश्व विद्यालयका पूर्व रजिष्ट्रार प्रा. पिताम्बरलाल यादवले सप्तरीमा शिक्षाको स्तर खस्कि सकिएको बताउँदै यसलाई सुधार्न सबै मिलेर सहयोग गर्नुपर्ने बताए । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सप्तरीका अध्यक्ष शिबनारायण साह ‘सुरज’ले जिल्लामा अझैं पठन संस्कृतीको विकास भई नसकेको कारण विद्यार्थीलाई पाठ्यपुस्तकसँगै अन्य सन्दर्भ सामग्रीतर्फ पनि प्रोत्साहन दिनु आवश्यक रहेको बताए ।
यसैगरी प्याव्सन सप्तरीका अध्यक्ष पञ्चदेव यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका कार्यबाहक अध्यक्ष श्रवणकुमार देव, प्याव्सनका पूर्व अध्यक्ष कुमार पाठकसहितकाले मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा गत बर्षको एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने प्रिमियर इंगलिस बोर्डिङ्ग स्कुलका छात्र अभिशेक श्रीवास्तवलाई नगद रु २५ सयसहित पुरस्कृत गरिएको छ । यसैगरी प्याव्सन अन्तर्गत विद्यालयका दुई जना उत्कृष्ट शिक्षकहरुलाई समेत सम्मानित गरिएको छ ।
प्याव्सन अध्यक्ष यादवले प्रमुख अतिथी प्रा.डा. यादव र शिक्षा अधिकारी पाण्डेलाई समेत दोसल्ला ओढाएर सम्मान गरेका छन् । कार्यक्रममा स्वागत मन्तव्य प्याब्सनका पूर्व केन्द्रीय सदस्य पुष्प सिटौलाले व्यक्त गरे ।
यस अघि आइतवार विहानै गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका विरामीहरुलाई फलफूल समेत वितरण गरिएको थियो ।