बालश्रम उन्मुलनकालागि सरकारदेखि गैरसरकारी संस्था समेत सक्रिय भएको बताइन्छ । तर, सप्तरीमा यो क्रम अझै रोकिएको देखिदैन । होटल, इट्टा भट्टा, टेलर्स, चिया पसललगायतका बढी संख्यामा बाल मजदुर रहने गरेको भएपनि त्यसलाई निषेध गर्ने तिर भन्दा पनि आँखा चिम्ल्ने प्रवृत्तिले बालश्रम उन्मुलनको कुरा केबल कागजमा मात्रै सिमित भएर रहेको छ । केही वर्षअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवको कार्यकालमा सप्तरीका इट्टा भट्टाहरुलाई बालश्रम मुक्त घोषणा गरियो ।
तर, त्यसपछि यसका विरुद्ध खासै अभियान नचलाइएका कारणले यो समस्या अझै जरो गाडेर बसिरहेको देखिन्छ । इट्टा भट्टा, पसल, होटल, टेलर्स मात्र होइन घरेलु काममा पनि बाल मजदुरहरुको संख्या निकै ठुलो देखिन्छ । ग्रामिण भेगमा जाने हो भने घाँस काट्ने, गाईवस्तु चराउने, दाउरा र कवाडी सामान संकलनमा लागेका बालबालिका प्रशस्त देखिने गरेका छन् । बालश्रम कानूनद्वारा नै निषेधित विषय हो । बालबालिकाहरुलाई काममा लगाउने होइन, विद्यालयमा भर्ना गर्नुपर्नेमा जोड दिइँदै आएको छ । जिल्लामा बालकल्याण समिति छ, महिला बालबालिका कार्यालय पनि कार्यरत छ । तैपनि बालश्रमको विकृति अन्त्य हुन् सकिरहेको छैन । यदाकदा हुने गरेका बालश्रम विरुद्धका कार्यशाला र गोष्ठिले मात्र बालश्रम उन्मुलन हुने होइन । यसकालागि बालश्रम विरुद्ध निरन्तर अभियानकै आवश्यकता छ ।
बालबालिकालाई श्रममा लगाउनु भनेको कानूनले नै निषेध गरेको विषय हो भन्ने कुरा खासगरी ग्रामीण भेगमा बुझाउन सक्नु पर्दछ । कुनै–कुनै बेला सदरमुकाममा मात्र आयोजना गरिने बालश्रम विरुद्धका कार्यक्रमहरुले मात्र लक्ष्य हासिल हुँदैन भन्ने कुरालाई मनन गरी यो अभियान दूरदराजका ग्रामीण भेगमा समेत पु¥याइनु जरुरी छ ।