• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

ट्रकको ठक्करबाट बालकको मृत्यु, खर्चुहिया तनावग्रस्त, एक दर्जन सर्वसाधारण र चार प्रहरी घाइते

ट्रकको ठक्करबाट बालकको मृत्यु, खर्चुहिया तनावग्रस्त, एक दर्जन सर्वसाधारण र चार प्रहरी घाइते

राजविराज २१ पुस । पुर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको खोजपुर गाविस स्थित खरचुहियामा ट्रकको ठक्करवाट बिहिवार एक वालकको मृत्यु भएको छ ।

पश्चिमबाट पुर्वतर्फ गईरहेको ना २ ख ६१८० नम्बरको ट्रकले ठक्कर दिँदा पन्सेरा गाविस–९ का ११ वर्षिय अर्जुन रामको मृत्यु भएको हो । उनको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटना पश्चात स्थानीय वासिन्दा आक्रोशित भएका थिए । उनीहरुले चर्को नाराबाजी गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गराएका थिए । सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीका अनुसार ठक्कर हान्ने ट्रकलाई नियन्त्रणमा लिई आगजनीको प्रयाससहित राजमार्ग अवरुद्ध गराउने क्रममा प्रहरी र स्थानियवासिन्दा बीच झडप भएको थियो । उक्त झडपमा करिब एक दर्जन सर्वसाधारण जनता घाइते भएका छन् । झडपमा चार जना प्रहरीसमेत घाइते भएको जनाईएको छ
आक्रोशित जनमानसले घटनास्थलमा ट्रकलाई नियन्त्रणमा लिए तोडफोड र आगजनीको प्रयास गरेपछि प्रहरीले नियन्त्रणको प्रयास गरेको प्रहरी उपरीक्षक लोहनीले जानकारी दिएका छन् । उनका अनुसार ईलाका प्रहरी कार्यालय कडरवोनाका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद यादवसमेत घाइते भएका छन् ।
स्थिती नियन्त्रणमा लिने क्रममा प्रहरीले ९ राउण्ड अश्रुग्यास प्रहार र लाठीचार्ज समेत गरेका छन् । स्थानिय वासिन्दाका अनुसार प्रहरीले हवाई फायर, अश्रुग्यास प्रहार र अत्यधिक बल प्रयोग गर्दा एक दर्जन सर्वसाधारण जनता घाइते भएका छन् । घाइतेहरुको रायपुर स्थित युनिक अस्पतालमा उपचार भईरहेको जनाईएको छ ।
घटनापछि विहिवार दिउँसो ४ बजेदेखी ६ बजेसम्म दुईघण्टा खर्चुहिया बजारमा राजमार्ग अवरुद्ध गरिएको थियो । उक्त क्षेत्र अबेर रातीसम्म तनावग्रस्त रहेका कारण सुरक्षा अवस्था कडा पारिएको छ ।