• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मधेशवादी दलहरुले भ्रम छरेको छः वरिष्ठ नेता नेपाल

मधेशवादी दलहरुले भ्रम छरेको छः वरिष्ठ नेता नेपाल

राजविराज, १६ पुस । नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नयाँ संविधान र एमालेको विषयमा सही ढङ्गले बुझाउन नसकेका कारण मधेशवादी दलहरुले भ्रम छरेको आरोप लगाएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले कार्यक्रमको कडा प्रतिकार गर्ने भनी दिएको चेतावनीकाबीच नेता नेपालले शम्भुनाथमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । मधेसवादी दलहरुले गरेको प्रचारतर्फ शैकेत गर्दै नेपालले देशको हित र मधेसका जनताका लागि काम गर्ने एमालेलाई मधेसविरोधी भनेर तथ्यहिन प्रचार भइरहेको बताए ।
नेता नेपालले मधेसीलाई सेनामा भर्ना सुरु गर्ने, सबैकालागि सामाजिक सुरक्षा भत्ता आरम्भ गर्ने र दोब्बर बनाउने, मुस्लिम र तराइ समस्या समाधान कार्यदल र सुकुम्बासी समस्या समाधान आयोग गठन गर्ने, हुलाकी राजमार्ग र जनता आवास कार्यक्रम सुरुवात गर्ने, सडक, सिचाईं, मेची महाकाली रेल्बे लाइन, आठ लेनको पूर्व पश्चिम राजमार्ग तथा सदरमुकामको नगरपालिकालाई एकमुष्ठ रकम विनियोजन गर्ने एमालेबारे मधेसवादी दलहरुले झुठलाई सयपल्ट दोहो¥याएर सत्य हुने गोयवल्स शैलीले प्रचार गरिरहेको आरोप लगाए । मधेसमा भइरहेको आन्दोलनतर्फ संकेत गर्दै नेपालले ‘छप्ल्याङ’को रोचक कथा सुनाए ।
मनमोहन अधिकारीको नेतृत्वमा पहिलो कम्युनिष्ट सरकार बन्दा पनि बृद्धबृद्धाहरुलाई कम्युनिष्ट सरकारले मार्ने भनेर हल्ला चलाए झंै अहिले एमालेविरुद्ध निराधार हल्ला चलाइएको भन्दै नेता नेपालले एमाले सरकारले नै बिजुली, पानी, पर्यटन, कृषी, सिंचाई र खनिज पदार्थको उत्खनन गरेर जनतामा विकासको सम्भावना देखाएको दावी गरे ।
एमालेको लोकप्रियताको भयले नौ महिनामै सरकार गिराउने विपक्षीहरुलाई उनले विदेशको नभई देश र देशवासीको चिन्ता गर्न आग्रह गरे । निषेधको राजनीति गर्ने मधेसवादी दलहरुलाई सत्तामा रहदा मधेसको स्मरण नआउने तर काठमाडौंमा महलहरु ठड्याउन र परिवारका सदस्यलाई सांसद बनाउन भ्याउने आरोप लगाए ।
एमाले जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेको अध्यक्षतामा आयोजित सभामा पोलिटब्युरो सदस्य रामप्रित पासवान, केन्द्रीय सदस्य सुमनराज प्याकुरेल, सांसद ताराकान्त चौधरी, पूर्व सांसद जगदीश साह, जिल्ला उपाध्यक्ष अब्दुल मजिद साकिर, अनेरास्ववियुका पूर्व उपाध्यक्ष सुधिर साहलगायतकाले मन्तव्य राखेका थिए । जिल्ला सचिव शम्भु यादव द्वारा सञ्चालिन कार्यक्रममा धन्यवाद जिल्ला सदस्य महेश चौधरीले गरे ।
कार्यक्रममा मधुपट्टीको बालज्योति बाल क्लबका बालबालिकाहरुले देशभक्ति नृत्य प्रस्तुत गरे । शम्भुनाथको कचन्दाहामा आयोजित कार्यक्रमस्थलमा पुग्दा नेता नेपाल सवार गाडिलाई सखुवा, सिरकजरीलगायतका ठाउँ–ठाउँका जनताले रोकेर फूलमाला र अक्षताको टिका लगाएर स्वागत गरेका थिए । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एमाले नेता नेपालद्वारा शनिबार शम्भुनाथमा हुने सभा र शुक्रबार खोजपुरमा उद्घाटन हुने निःशुल्क स्वास्थ्य शिविरको कडा प्रतिकार गर्ने चेतावनीसहितको प्रेस विज्ञप्ति जारी गर्दै बिहीबार खरचुहिया बजारस्थित पूर्व–पश्चिम राजमार्गमा सांकेतिक विरोधस्वरुप एक घण्टा चक्काजाम गरेको थियो ।
नेता नेपालद्वारा खोजपुरको रञ्जितपुरमा शुक्रबार उद्घाटित दुई दिने निशुल्क स्वास्थ्य शिविरमा दुई हजार पाँच सय ६२ जना विरामीलाई उपचार सेवा एवं आठ लाख बराबरको निः शुल्क औषधी प्रदान गरिएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका केन्द्रीय सदस्य दिपक मण्डलले जानकारी दिए । जसमा एक हजार चार सय ३८ महिला र एक हजार एक सय २४ जना पुरुषले उपचार गराए ।
राष्ट्रिय चिकित्सक संघ, नेपालको सहयोगमा राष्ट्रिय स्वास्थ्यकर्मी संघको आयोजना एवं खानेपानी तथा सरसफाई उपभोक्ता समितिको व्यवस्थापनमा भएको कार्यक्रममा जेनरल मेडिसिनमा ७९७, हाडजोर्नी तथा नशाका ७०२, दाँतका १२४, बालरोगका २०२, स्त्री रोगका २३८, कान, नाक, घाँटीका १६७, छाला रोगका ३४० र आँखाका १९१ जनाले उपचार गराएको थिए । आँखा रोगीमध्ये २४ जनामा मोतियाबिन्दु फेला परेको आँखा रोग विशेषज्ञ डा. शैलेशमणी पोखरेलले बताए ।
स्वास्थ्य उपचार गराउनेमध्ये २२३ जनाको भिडिओ एक्सरे, ८६ जनाको इसिजी र ७४ जनाको ल्याब परिक्षण गरिएको थियो । शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. गणेश गुरुङ, डा. सन्तोष पौडेल, डा. प्रमोद बराल, बालरोग विशेषज्ञ डा. गणेश राई, जनरल फिजिसियन डा. सन्त कुमार दास, डा. निरज बान, डा. रंजित झा, डा. रमेश ढकाल, रेडियोलोजिष्ट डा. रोबिन खडका, डा. प्रज्ञा शाक्य, आँखा रोग विशेषज्ञ डा. शैलेशमणी पोखरेल, मानसिक रोग विशेषज्ञ डा. मथुर बस्नेत, स्त्री रोग विशेषज्ञ डा. अनामिका दास, डा.अंजली रसाइली, दन्त रोग विशेषज्ञ डा. प्रणित पोखरेल, डा. योगेन्द्र प्रसाद राउत, छाला रोग विशेषज्ञ डा.मनोज चौधरीलगायत २३ जना चिकित्सकले स्वास्थ्य जाँच गरेको कोर्डिनेटर डा. कृष्णा अधिकारीले जानकारी दिए । यस्तै एमाले नेता नेपालले भेडिया बजारमा आयोजित कार्यक्रममा पुगेर भूमिगतकालका बेला आश्रय दिने २३ आश्रयदाताहरुलाई शुक्रबार दोसल्ला ओढाएर सम्मान समेत गरे ।