राजविराज, १५ पुस । एसएलसी परीक्षामा सप्तरीका सामुदायिक विद्यालयहरुको ग्रेडिङ्गमा ह्रास हुँदै गएको तथ्यलाई मध्यनजर गर्दै सप्तरी क्षेत्र नम्वर–३ का निर्वाचित सांसद उमेश कुमार यादवले जिल्लाका सामुदायिक विद्यालयहरुमा कोचिङ्ग कक्षा सञ्चालन गराएका छन् ।
उनले आफ्नो निर्वाचन क्षेत्र तथा आसपासका केही गरी १८ ओटा विद्यालयमा पहिलो पटक यस्तो कार्यक्रम सञ्चालनमा ल्याएका हुन् । पुस १ गतेदेखि शुरु भएको तीन महिने निःशुल्क कोचिङ्ग कक्षामा एक हजार भन्दा बढी छात्रछात्रा सहभागी भएका छन् । कक्षाकालागि उनले तत्काल संसदीय विकास कोषबाट १२ लाख बजेट छुट्याईएको छ ।
विद्यालयमा प्रत्येक दिन अंग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षाको तीन घण्टा विहानी कक्षा सञ्चालन हुन थालेपछि साताको एक पटक कार्यक्रम सञ्चालन भएका कुनै एक विद्यालयमा पुगेर सांसद यादव पूर्व सिंचाई मन्त्री यादव स्वयम्ले पनि निरीक्षण शुरु गरेका छन् । नियमित अनुगमनकालागि अवकाशप्राप्त प्रधानाध्यापक देवलाल यादवको संयोजकत्वमा १५ सदस्यीय अवकाशप्राप्त शिक्षकहरुको अनुगमन समिति समेत निर्माण गरिएको छ । 
सदरमुकाम स्थित राजदेवी, पब्लिक विन्देश्वरी, बोरिया गाउँ विकास समिति स्थित नरेन्द्र मेमोरियल, गोरगामा स्थित रुद्रनारायण, ईटहरी विष्णुपरको जनता मा.वि., छिन्नमस्ता स्थित भूपेन्द्र संस्कृत, कुपहीको जनता मावि, खुरहुरिया स्थित जनता मावि, मावि कनकट्टा, मावि तिलाठीलगायतका विद्यालयहरुमा निःशुल्क कोचिङ्ग कक्षा सञ्चालन हुने गरेको संयोजक यादवले जानकारी दिएका छन् । प्रत्येक विषयका शिक्षकलाई एक घण्टी कक्षा लिए वापत २ सय ५० तथा दुई घण्टी अध्यापन गराएमा ४ सयका दरले पारिश्रमिकको व्यवस्था गरिएको छ ।
आफूहरुले निःशुल्क कोचिङ्ग कक्षामा सहभागी भई पढ्न पाउँदा विद्यार्थीहरुले खुशी व्यक्त गरेका छन् । मावि खुरहुरिया स्थित कक्षा १० कि छात्रा पुनिता साहले भनिन् ‘पहिलो पटक यस्तो व्यवस्था हुँदा हामीलाई निक्कै सहुलियत भएको छ, ट्युसन पढ्नकालागि सुविधा नरहेको र खर्चको समेत अभाव भएको बेला कोचिङ्ग कक्षाले हामीलाई कोर्ष पुरा गर्न सहज भएको छ ।’ पाँच किलो मिटर धाएर राजविराजमा ट्युसन पढ्नुपर्ने बाध्यता अव समाप्त भएको र आफ्नै गाविसमा कोचिङ्ग पढ्न पाउँदा साह्रै खुशी लागेको मलेकपुर–५ कि छात्रा कृष्णा कुमारी मण्डलले जानकारी दिईन् ।
जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले जिल्लामा पहिलो पटक शुरु भएको यस्तो कामले शिक्षा क्षेत्रमा सुधार आउने भन्दै एसएलसी परीक्षामा समेत त्यसको सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । आफूहरुले शैक्षिक गुणस्तर उकास्न गरिरहेको प्रयासमा यो कामले अझैं सघाउ पुग्ने उनको भनाई छ ।
सांसद यादवले आफ्नो जिल्लामा एसएलसी तल्लो ग्रेडिङ्गमा पर्नेहरुको संख्या बढी रहेको, उनीहरु पढाई छोडेर कुलतमा लाग्ने अथवा रोजगारीकालागि विदेश जाने गरेको कुरालाई ध्यानमा राखी यस्तो कार्यक्रम ल्याएको बताए । ‘कार्यक्रमको प्रभावकारिता हेरेर आगामी वर्ष यसलाई अझैं विस्तार गर्ने योजना छ’ उनले भने ‘ आफू यहिका जनताद्वारा निर्वाचित प्रतिनीधि भएको कारण यहाँका बालबालिकाकालागि पनि केही गरौं भन्ने भावनाले यो कार्यक्रम शुरु गरेका हौं ।’