• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मधेस र एमालेको सम्वन्ध कृष्ण–सुदामा जस्तैः वरिष्ठ नेता नेपाल

मधेस र एमालेको सम्वन्ध कृष्ण–सुदामा जस्तैः वरिष्ठ नेता नेपाल

अनिल पोखरेल/रुपनगर, १५ पुस । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले मधेस र एमालेको सम्वन्ध पौराणिककालको कृष्ण र सुदामा जस्तै भएको बताएका छन् ।
राष्ट्रिय स्वास्थ्यकर्मी संघ, सप्तरीको आयोजना एवं खानेपानी तथा सरसफाई उपभोक्ता समितिको व्यवस्थापनमा खोजपुरको रञ्जितपुरस्थित जनता आधारभूत निम्न माध्यमिक विद्यालयमा शुक्रवारदेखि सञ्चालन भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविर उद्घाटन गर्दै उनले यस्तो कुरा बताएका हुन् । प्रमुख अतिथि नेता नेपालले जन्मघर रौतहट र मामाघर सिरहा भएको बताउँदै नेता नेपालले मत हालेर चुनावमा जिताउने पनि मधेसकै जनता भएकोले मधेससँग आफ्नो मातृप्रेमको सम्वन्ध रहेको टिप्पणी गरे ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीको चेतावनीका बीच शिविरको उद्घाटन गर्दै नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री नेपालले आफू कहिले पनि मधेश विरोधी नभएको तर केही विरोधी तत्वको बुझाई गलत भएको बताए । विरोध गर्नेहरुलाई विरोध नगरी खाएको पच्दैन भन्दै नेता नेपालले जतिसुकै विरोध गरे पनि राम्रो गर्नेको राम्रै हुने र जनताले मुल्यांकन गर्ने प्रष्टयाए ।
तराई मधेशको विकासको लागि चुरेको संरक्षण गर्न आग्रह गर्दै उनले विकास निर्माणका प्रश्नमा एमालेको सरकारले जहिले पनि पार्टीभन्दा माथि उठेर काम गरेको स्पष्ट पारे । पूर्वप्रधानमन्त्री नेपालले देशको विकासकालागि मधेसको विकासलाई पूर्वशर्त मानेर नै एमालेको ओली सरकारले योजनाहरु ल्याएको दावी गरे । उनले अगाडि भने– नौ महिने कालमा बृद्ध भत्ताको सुरुवात र अहिले बृद्धि, स्थानीय निकायमा वजेटको निर्धारण, तराईका जिल्लालाई एकमुष्ट रकम निकासा, तराईमा जनताको सुरक्षित आवासको शुरुवात, फाष्ट ट्रयाक योजना, पूर्व–पश्चिम रेलको योजना एमालेले नै गरेको बताए ।
देशको संविधान संशोधनकालागि विदेशी गुहार्नु र विपक्षीलाई कार्यक्रम गर्नबाट निषेध गर्नु लाजमर्दो भएको बताउँदै उनले चित्त नबुझेको कुरा तर्क र तथ्यका आधारमा आपसमा छलफल गरेर समाधान गर्न सकिने बताए । मोर्चाले एमाले नेताले उद्घाटन गर्ने कार्यक्रमको कडा प्रतिकार गर्ने चेतावनीसहितको प्रेस विज्ञप्ति जारी गर्दै बिहीबार खरचुहिया बजारस्थित पूर्व–पश्चिम राजमार्गमा सांकेतिक विरोधस्वरुप एक घण्टा चक्काजाम गरेको थियो । प्रतिकार गर्ने चेतावनीपछि प्रहरीले शुक्रबार सुरक्षा व्यवस्था कडा बनाएको थियो । कार्यक्रमको अन्त्यसम्म पनि मोर्चाका नेताहरु कार्यक्रमस्थलमा नदेखिएको र शान्तिपूर्वक कार्यक्रम भएको आशुतोष सिंहले बताएका छन् ।
खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बिजय साहको अध्यक्षतामा आयोजित समारोहमा एमाले स्थायी कमिटि सदस्य रामप्रित पासवान, केन्द्रीय सदस्य सुमनराज प्याकुरेल, जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेलगायतले मन्तब्य व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका रामउग्र साह, नारायण प्रसाद साह, बमभोल चौधरी, रविलाल मण्डल, एमालेका राजकुमार साह, देवनारायण मण्डल, माओवादीका बलदेव मण्डल, विरबल मण्डल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका रामाकान्त चौधरी, तराई मधेस राष्ट्रिय अभियानका ललकु चौधरी, आदिवासी जनजातीका हरिनारायण चौधरी, ललिता देवी चौधरी, खर्चुहिया बजार समितिका अध्यक्ष रामचन्द्र चौधरी, निवर्तमान गाविस उपाध्यक्ष दुखी मण्डल, गाविस सचिव कमल गिरी, जनता आधारभूत निमावि खोजपुरका व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र प्रसाद साह, रेशम राप्रावि खोजपुरका प्रधानाध्यापक गणेश चौधरी, समाजसेवी कृष्ण मण्डल, श्रवण कुमार चौधरी, सत्यनारायण चौधरीलगायतको उपस्थिति थियो ।
राष्ट्रिय चिकित्सक संघ नेपालको सहयोगमा आयोजित शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. गणेश गुरुङ, डा. सन्तोष पौडेल, डा. प्रमोद बराल, बालरोग विशेषज्ञ डा. गणेश राई, जनरल फिजिसियन डा. सन्त कुमार दास, डा. निरज बान, डा. रंजित झा, डा. रमेश ढकाल, रेडियोलोजिष्ट डा. रोबिन खडका, डा. प्रज्ञा शाक्य, आँखा रोग विशेषज्ञ डा. शैलेशमणी पोखरेल, मानसिक रोग विशेषज्ञ डा. मथुर बस्नेत, स्त्री रोग विशेषज्ञ डा. अनामिका दास, डा.अञ्जली रसाइली, दन्त रोग विशेषज्ञ डा. प्रणित पोखरेल, डा.योगेन्द्र प्रसाद राउत, छाला रोग विशेषज्ञ डा.मनोज चौधरीले स्वास्थ्य जाँच गर्ने र सम्पूर्ण उपचार सेवा एवं औषधी निःशुल्क प्रदान गरिएको कोर्डिनेटर डा. कृष्णा अधिकारीले जानकारी दिएका छन् ।
एमाले नेता नेपालले भेडिया बजारमा आयोजित कार्यक्रममा पुगेर भूमिगतकालका बेला आश्रय दिने एक दर्जन बढी आश्रयदाताहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरेका छन् ।