• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

स्वर्ण पदक विजेता खेलाडि भन्छन् ‘डाइट जुटाउन पत्नीको गहना बेच्नुपर्यो’(भिडिओ हेर्नुस्)

स्वर्ण पदक विजेता खेलाडि भन्छन् ‘डाइट जुटाउन पत्नीको गहना बेच्नुपर्यो’(भिडिओ हेर्नुस्)

राजविराज, १४ पुस । राष्ट्रकालागि खेल्ने खेलाडिहरुको जिवन–जिविकाको विषयमा सरकार गम्भीर नरहेको भन्दै राष्ट्रिय भारोत्तोलन खेलाडि मनोज कुमार यादवले असन्तुष्टि व्यक्त गरेका छन् ।
सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–७ निवासी यादवले सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेता खेलाडि यादवले ‘न्यूज टुडे’सँगको कुराकानीका क्रममा असन्तुष्टि व्यक्त गरेका हुन् । ‘खेलाडिहरु राष्ट्रकालागि खेल्ने गर्छन् तर राज्यले खेलाडिहरुको जिवन–जिविकाको सवालमा मौन छ’ उनले भने ‘खेलाडिकालागि दैनिक डाइटको आवश्यकता पर्छ तर डाइट नै नपुगेपछि निराशा बढ्नु तथा अपेक्षाकृत परिणाम पाउन नसक्नु स्वाभाविक हो ।’
बेरोजगारी र आर्थिक अभावका कारण यसवर्षको प्रतियोगितामा उनले भाग लिने वा नलिने दोधारमा थिए । कारण थियो शारिरीक अभ्यासपछिको डाइट । डाइट जुटाउन समस्या परेका उनले अन्ततः पत्नीको गहना बेचेर डाइट व्यवस्थापन गरे । नभन्दै उनी स्न्याचमा ८० किलो तथा क्लिन एण्ड जर्कमा ९६ किलो गरी १७६ किलो तौल उचालेर स्वर्ण पदक प्राप्त गर्न सफल भए ।
प्रतियोगितामा विजयी भएका उनी केही समय एक पेट्रोल पम्पमा काम गरे । हाल उनी बेरोजगार भएर घरमा बसेका छन् । दैनिक जीवन चलाउन समस्या हुने गरेको बताउँदै उनले भने ‘म जस्ता कैयौं खेलाडि बेरोजगार भएर बसिरहेका छन् तर यसतर्फ सरकारको ध्यान जान सकेको छैन ।’ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर देशको नाम राख्ने संकल्प लिएका उनले दैनिक अभ्यासलाई निरन्तरता दिएका छन् । ‘हामी जस्ता खेलाडिहरुको प्रमुख समस्या हो डाइट, यो नभएपछि त खेल्न सकिदैन’ भारोत्तोलन खेलाडि यादव भन्छन् ‘डाइट जुटाउन मैले पत्नीको गहना बेच्नुपरयो, यो कुरा घरपरिवारका अभिभावकलाई पनि थाहा छैन ।’ आफू जस्ता खेलाडिको जिवनजिविकाको सवालमा सरकार गम्भीर बन्न नसकेकोमा चिन्ता व्यक्त गर्दै उनले खेलमा लगानी गरे अन्तर्राष्ट्रिय स्तरमा देशको नाम र शान बढ्ने बताए । उनीसँग विभेदको फेहरिस्त पनि लामै छ । भारतमा आयोजना भएको साफ गेममा खेल्न जाँदा आफूभन्दा २ किलो बढी वजनका खेलाडिलाई खेल्न दिएको तर आफूलाई खेल्ने अवसरबाट बञ्चित गरिदिएको उनले बताए ।
महेन्द्रनगरमा आयोजना भएको छैठों राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा समेत उनले स्वर्ण पदक प्राप्त गरेका थिए । खेलाडि मनोजका बुवा पुन्तीलाल यादव समेत भारोत्तोलनका अन्तर्राष्ट्रिय खेलाडी हुन् । बुवाकै प्रेरणाबाट भारोत्तोलनमा रमेका उनले अन्तर्राष्ट्रिय खेलाडिको रुपमा चिनाउने सोच राखेका छन् ।

(भिडिओ हेर्नुस्)