• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
स्वास्थ्य संस्थाको व्यवस्थापन गर

सप्तरी जिल्लामा रहेका सरकारी स्वास्थ्य संस्था मध्ये कतिपय भवन अभाव खेपिरहेका छन् । भवन नभएका कारण उपचार सेवा समेत प्रभावित हुने गरेको छ । कतिपय स्वास्थ्य संस्थाहरु गाविस भवनको एउटा कोठा लिएर संचालन भइरहेका छन् । कार्यालय प्रशासन, स्टोर, बिरामी जाँच्ने छुट्टै कोठा नभएका कारण उपचार सेवा प्रभावित हुनुलाई अस्वाभाविक भन्न मिल्दैन । सरकारले सबै जनताकालागि सुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने नीति त बनाएको छ तर, भवन अभावकै कारण सेवा प्रभावित हुन थालेपछि जनताले कसरी सुलभ रुपमा उपचार सेवा पाउलान ?
यसका लागि पहिले भवनको व्यवस्था गरेर निःशुल्क रुपमा दिनुपर्ने औषधी दुरुस्त राख्नु आवश्यक छ यसका साथै स्वास्थ्य संस्थाहरु तोकिएको समय अवधिसम्म खुला राख्नुपर्ने परिपाटीलाई समेत कार्यान्वयन गरिनु जरुरी छ । सप्तरीका खासगरी ग्रामिण भेगमा कतिपय स्वास्थ्य संस्थाहरुको अवस्था संतोषजनक नरहेको भन्दै गुनासो उठ्दो छ । त्यसमाथिपनि यातायातको सुगमता नभएका गाविसमा उपचार सेवा भरपर्दो नभएको स्थानीयवासीहरुको भनाई छ । गाविस कार्यालयको एउटा कोठामा मात्र स्वास्थ्य संस्था राखेर अब काम चल्नेबाला छैन । त्यसैले आफ्नै भवन र आवश्यकता अनुसारका कोठाको व्यवस्थातिर लाग्नु जरुरी देखिन्छ ।
स्वास्थ्य संस्थाको अवस्था दुरुस्त रहे मात्र कुनैबेला पनि सेवा पाइनु सम्भव हुन्छ । ग्रामिण भेगमा सर्पदंश, झाडापखालालगायतका समस्याहरु बारम्बार दोहोरिने अवस्था छ । त्यहाँ इमरजेन्सी उपचार हुन जरुरी रहेको कुरालाई मध्यनजर गरेरपनि स्वास्थ्य संस्थाको व्यवस्थापन खट्कँदो विषय बनेको हो ।