• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीको देउरीभरुवामा रोकियो वालविवाह

राजविराज, ८ पुस । देउरीभरुवा गाविस–५ की १५ वर्षीया बालिका र सुनसरीको अर्नामा गाविसका २० वर्षीय मो. आरिफ मन्सुरीबीच हुन लागेको बालविवाह रोकिएको छ ।
महिला बालबालिका सेवा केन्द्र र इन्सेक सप्तरीको पहलमा शुक्रवार रोकिएको हो । कक्षा ७ मा अध्ययनरत बालिकाको विवाह पुस १४ गते निश्चित भएको भन्ने जानकारी पुस ७ गते प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयको सहयोगमा बालिका र निजकी आमालाई शुक्रवार नियन्त्रणमा लिईएको थियो ।
बालिका र उनका परिवारका सदस्यहरुलाई बालविवाहले पार्ने असर र कानुनी प्रावधानबारे जानकारी दिँदै मनोविमर्श गरेपछि उनीहरु विवाह स्थगित गर्ने निष्कर्षमा पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले बताए । बालिकासँग विवाह गर्न तयार युवकलाई जिल्ला प्रहरी कार्यालय झिकाइएको र तथा बालिकाकी आमालाई दैनिक हाजिरमा राखिएको उनले जानकारी दिए । बालिकाका बुवा वैदेशिक रोजगारमा साउदी अरबमा कार्यरत छन् । बालिकाकी जेठी दिदीको विवाह भइसकेको छ भने उनीभन्दा मुनी तीन बहिनी र एक भाइ रहेको इन्सेक सप्तरी प्रतिनीधि मनोहर कुमार पोखरेलले जानकारी दिएका छन् ।