उनलाई उपहार पठाउन लाग्ने भन्सार महसुल भन्दै भारत र भैरहवाबाट फोन गरी रकम मागिएको थियो। केही लाख खर्च गरेर लाखौंको सामग्री पाउने चाहनामा उनले आठ लाख गुमाएको अनुसन्धानमा खुलेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा फेसबुकलाई माध्यम बनाएर ठगिएका आधा दर्जन उजुरी परेका छन्। ब्युरोका अनुसार ठगिने सबै महिला छन्। अधिकांशलाई उपहारको लोभ देखाउर भन्सार र भाडाबापतको रकम भन्दै पैसा मागिएको छ। केही युवतीसँग भने अश्लील दृश्यसहित संवाद भएको उजुरी परेको ब्युरोले जनाएको छ।
'अमेरिका र युरोपबाटै गिरोहले धन्दा चलाएको देखिन्छ। भारत र नेपालमा रहेका गिरोहका सदस्य रकम लिने र फोन गर्ने कार्यमा जुटेको भेटियो,' ब्युरोका प्रमुख डिआईजी नवराज सिलवालले भने। उनका अनुसार धनाढ्य परिवारका गृहिणी गिरोहको पहिलो निसानामा परेका छन्। यस्तै केही जागिरे र कामकाजी महिलासमेत गिरोहबाट ठगिएको ब्युरोको अनुसन्धानमा देखिएको छ। 'हामीले एक हजार पाँच सयको हाराहारीमा युवती तथा महिला ठगिएको अनुमान गरेका छौं, निवेदन आउने क्रम जारी छ। ठगिएका केही महिला परिवारको प्रतिष्ठाका कारण सार्वजनिक हुन चाहेनन्,' सिलवालले भने।
ब्युरोमा परेको उजुरीअनुसार उपहारको लोभमा परी ठगिने महिलालाई अमेरिकामा रहेका युवाले उपहार पठाएको जानकारी दिएपछि आफू बिदामा रहने बताएका थिए। उनले उपहार पठाएको तेस्रो दिन भारतबाट कसैले फोन गर्दै उपहार महँगो भएको र भन्सारमा मिलाउने भन्दै रकम मागेको थियो। नेपालबाट पैसा पठाएको दोस्रो दिन भैरहवाबाट नेपाली युवाले फोन गरी थप रकम माग गरेका थिए। भैरहवामा रकम पठाएको दुई सातासम्म उपहार हात नपरेपछि महिला ब्युरोको सम्पर्कमा पुगेकी हुन्।
'हामीले ठग गिरोहको निर्देशनमा रकम पठाउन सघाउने दुईजनालाई पक्राउ गरेका छौं। सामाजिक सञ्जालमार्फत भएको कुराकानीका आधारमा व्यक्ति पहिचान र पक्राउ गर्न समय लाग्छ, अनुसन्धान जारी छ,' ब्युरोकी एसपी मिरा चौधरीले भनिन्। उनले यस्तै प्रकारको ठगीको घटना केही महिनाअघि मकवानपुरमा समेत भएको बताइन्।
ब्युरोले मंसिर २३ मा एक महिलाको उजुरीपछि ललितपुर सुन्धाराका अनिलनाथ श्रेष्ठ र काठमाडौं बनस्थलीकी अनीता महर्जनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। दुवैले ठगिने महिलाले पठाएको रकम व्यवस्थापन गर्न सघाएको ब्युरोको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। डिआइजी सिलवालका अनुसार गिरोहका सदस्यमध्ये एउटा समूहले नेपालमा रहेका धनाढ्य गृहिणी र जागिरे युवती पहिचान गर्ने, गिरोहकै अर्को समूहले साथी बनाएर उपहार पठाएको भन्नेसम्मको चरण पूरा गर्ने र अन्य सदस्यले रकम व्यवस्थापन गर्ने गरेका छन्। गिरोहले एक लाखदेखि २० लाखसम्म उपहार, वैदेशिक रोजगार र विवाहको प्रलोभन देखाएर सयौं महिलाबाट रकम ठगेको सिलवालले बताए।
'पत्याउनै नसक्ने परिवारका पढेलेखेका महिला पीडित भएको भेटियो, गिरोहका सदस्यले आफू युरोपका विभिन्न देश र अमेरिकामा बसोबास गर्ने नेपाली भएको विश्वास दिलाएपछि मात्र ठग्ने योजना अघि सार्ने गरेका छन्,' सिलवालले थपे, 'कसैले भनेकै भरमा पत्याउँदा यहाँ अस्मिता र सम्पत्ति दुवै खतरामा परेका हुन्।'ब्युरोले घटनाको अनुसन्धानका लागि फेसबुकको प्रधान कार्यालय र इन्टरपोलसमेतको सहयोग लिने भएको छ। 'आवश्यकताअनुसार समकक्षी प्रहरी र निकायको सहयोग लिएर घटनाका दोषीलाई पक्राउ गर्न ब्युरो जुटेको छ। ठगिनबाट बच्न सचेतनासमेत आवश्यक छ,' एसपी चौधरीले भनिन्। साभारः नागरिक न्यूज डट्कमबाट