• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
‘महिला हिंसाका घटना न्यूनिकरण भएन’

काठमाडौ ६ पुस । महिला मैत्री संबैधानिक तथा विभिन्न कानूनी व्यवस्था निर्माण हुँदा पनि महिला हिंसाका घटनाहरु न्यूनिकरण हुन नसकेको भन्दै सरोकारवालाहरुले चासो व्यक्त गरेका छन् ।
सपोर्ट नेपालद्वारा आयोजित महिला बिरुद्धका हिँसा अन्त्यका लागि चालिएका प्रयास र चुनौतिहरु विषयका कार्यशालामा बोल्दै महिला अधिकारकर्मी तथा बक्ताहरुले महिलाहरुको सहभागितामा बृद्धि भए पनि अर्थपूर्ण सहभागिता हुन नसकेको बताएका छन् । कार्यशालामा बोल्दै वियोण्ड बेजिङ्ग कमिटिको तर्फबाट शान्तालक्ष्मी श्रेष्ठले महिला हिंसा नेपाली समाजमा सामाजिक ब्यवस्थाकै रुपमा रहेको बताईन् ।
धार्मिक, साँस्कृतिक मुल्य तथा परम्परागत रुपमा प्राप्त हुने शिक्षा र धारणाहरुले नै महिला हिंसालाई निर्देशित गरेका कारण महिला हिंसा बिरुद्धमा थालिएका प्रयासहरुले आसातित परिणाम हासिल हुन नसकेको बताउँदै श्रेष्ठले घरपरिवार, समाज र राज्यबाट नै कतियप अवस्थामा महिला हिंसा हुने गरेको वताउनु भयो ।
नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष निर्मला धितालले अपांगता भएका महिलाहरुको सवालमा कसैको पनि चासो पुग्न नसकेको बताईन् । धितालले अपांगता भएका महिलाहरु माथि हुने हिंसा नियन्त्रण तथा न्यूनिकरणका लागि विशेष ब्यवस्थाको आवश्यकता औंल्याईन् ।
कार्यशालामा सपोर्ट नेपालले महिला हिंसा बिरुद्धको १६ दिने अभियानलाई मध्यनजर गर्दै धनुषा, सर्लाही र पर्सा जिल्लामा संचालन गरेको अभियानबाट प्राप्त सुझावहरु प्रस्तुत गरिएको थियो । १६ दिने अभियानको क्रममा सपोट नेपालले धनुषा जिल्लाका झटीयाही, खरिहानी, कजरारमौल तथा सर्लाही जिल्लाका जानकीनगर, मुर्तिया र हजरिय र पर्सा जिल्लाका जीतपुर, पटेरवा सुगौली र धोरे गाविसमा महिला हिंसा विरुद्ध सचेतना अभियान कार्यक्रम सञ्चालन गरेको थियो ।
सम्वन्धित गाविसमा स्थानीय सरोकारवालाहरुको सहभागितामा महिला हिंसा बिरुद्ध गाविस स्तरिय कार्यशाला संचालन गरिएको र गाविसबाट प्राप्त सुझावहरुलाई जिल्ला स्तरिय कार्यशालामा प्रस्तुत गरिएको थियो । जिल्लाबाट प्राप्त सुझावहरुलाई लिएर संचालन गरिएको केन्द्रिय कार्यशालामा अल्पसंख्यक तथा सीमान्तकृत समुदायका महिलाहरु अन्य महिलाको दाँजोमा बढी हिँसामा परेको र यसका लागि विशेष कानुनी ब्यवस्था हुनु पर्ने लगायतका विषय सुझावमा आएका थिए । कार्यशालामा संचारकर्मी, महिला अधिकारकर्मी लगायतको उपस्थिति रहेको थियो ।