काठमाण्डौ, ३ पुस । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपालमा ढाका टोपी लगाउनेहरुले नै राष्ट्रघाती निर्णयहरू गरेको आरोप लगाएका छन् ।
रिपोटर्स क्लवमा आइतवार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । यो देशमा धोती लगाउनेले कहिल्यै पनि राष्ट्रघाती काम पहिले पनि गरेको न भविष्यमा गर्ने उनले बताए । अंगीकृत नागरिकलाई राष्ट्रपति बनाउने संविधान कुनै मधेशीले नबनाएको बताउँदै नेता महतोले भने ‘०४६ सालको संविधान होस् अथवा ०६३ सालको संविधान यी सबैमा अंगीकृतलाई राष्ट्रपति बनाउने प्रावधान कुनै मधेशीले बनाएको होईन ।’
पाँच जिल्लाको विवादबारे महतोले तीन दलमाथि नेपालमा पनि महाभारत गराउन खोजेको आरोप लगाए । उनले भने ‘विवादित भनिएको ५ जिल्लाको लागि यदि एमाले सहित तीनवटै दल महाभारत नै चाहन्छ भने मधेशी जनता महाभारतको लागि पनि तैयार छन् ।’ ५ गांउको विवादले महाभारत युद्ध पछि जसरी कौरवहरू नाश भएको थियो त्यही हाल संघीयता र मधेश विरोधीहरूको पनि हुने उनले बताए ।
संविधान संशोधन प्रस्तावको विरोध भई रहेको सन्दर्भमा सदभावना पार्टीका अध्यक्ष महतोले तीन वटै ठूलो दलको भूमिका शंकास्पद रहेको बताउँदै महतोले ५ नम्बर प्रदेशको बहानामा भई रहेको आन्दोलनको कुनै औचित्य नरहेको प्रष्ट्याए । उनले मधेशी जनता अहिले धैर्य धारण गरेकोले मधेशी जनतालाई धेरै नउकास्न आग्रह गरे । महतोले मधेशी जनता प्रतिकारमा ओर्लिए देश गृहयुद्धमा फँस्ने चेतावनी समेत दिए ।
एमाले पार्टी विरूद्ध निकै आक्रामक रूपमा प्रस्तुत भएका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एमालेलाई मधेश विरोधी, संघीयता विरोधी मात्रै भनेनन् उनले एमालेमाथि नयां संविधान डुबाउन लागेको समेत आरोप लगाए । महतोले एमालेकै कारण नयां संविधान माथि पनि खारेजी हुने खतरा बढेको बताए ।