• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविराजमा महिला शिक्षकहरुको भेला शुरु

राजविराज, १ पुस । सप्तरी जिल्लाको सामुदायिक तथा नीजि विद्यालयका महिला शिक्षकहरुको भेला राजविराज स्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालयमा शुक्रवारदेखि शुरु भएको छ ।
सप्तरी जिल्लामै पहिलो पटक शिक्षा कार्यालयले महिला शिक्षकहरुकालागि यस्तो बृहत कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा महिला शिक्षकहरुले गरेका राम्रा तथा सफल अभ्यासहरु सवैलाई जानकारी गराउँदै महिला शिक्षकहरुका तत्कालिन र दिर्घकालिन समाधानका योजना बनाउने उद्देश्यकासाथ सप्तरीमा पहिलो पटक यस्तो बृहत भेला आयोजना गरिएको जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले जानकारी दिएका छन् ।


सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालन भएको भेलामा सामुदायिक विद्यालयका ५८८, संस्थागत विद्यालयका एक(एक गरी ४५ जना र अन्य वालविकास गरी करिब ७ सय महिला शिक्षक सहभागि भएको शिक्षा कार्यालय सप्तरीले जनाएको छ । महिला शिक्षकले गरेका राम्रा तथा सफल अभ्यासको वारेमा अर्को विद्यालयका महिला शिक्षकले जानकारी पाउने, सुधारको वाटोमा रहेका शिक्षकलाई हौसला प्राप्त हुने र उनीहरुले भोगिरहेका समस्या समाधानका लागि तत्कालिन र दिर्घकालिन समाधानका उपायहरुको खोजी गरिने पाण्डेले बताएका छन् ।
महिला शिक्षकहरुकै कारण प्राथमिक तहमा वालवालिकाहरुको उपस्थिति तथा नियमिततामा वृद्धि भएको तथा शिक्षाका क्षेत्रमा उनीहरुको योगदान अतुलनिय हुँदाहुँदै पनि उनीहरु प्राय अगाडि आउन नसकेको बताउँदै जिल्ला शिक्षा अधिकारी पाण्डेले भने ‘महिला शिक्षकहरुले दैनिक रुपमा भोगीरहेका समस्या गौण अवस्थामै रहने गरेकोले समाधानको खोजी गरिनेछ तथा उनीहरुको थप सहजताकालागि अन्य तरिकाहरु तथा सहजीकरणका उपायहरु अवलम्बन गरिने छ ।’
कार्यक्रममा विशेषज्ञ डा. विद्यानाथ कोईराला, डा. लक्ष्मण ज्ञवाली, डा. सुसन आचार्य लगायतका शिक्षा विज्ञहरुद्वारा सहजिकरण गर्ने जनाईएको छ । सुनौलो शिक्षा कार्यक्रम २०१६ अन्तर्गत ‘महिला शिक्षकले चाहे गर्न सक्छन’ भन्ने नाराका साथ उक्त कार्यक्रम आयोजना भईरहेको छ ।