• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रहरीले हिरासतमा यातना दिएको भन्दै एशियन ह्युमन राइट्स कमिशनको गम्भीर आपत्ति

प्रहरीले हिरासतमा यातना दिएको भन्दै एशियन ह्युमन राइट्स कमिशनको गम्भीर आपत्ति

धनुषा, २८ मंसिर । स्वतन्त्र मधेश गठबन्धनका १७ जना समर्थकलाई प्रहरीले विना कारण पक्राउ गरी हिरासतमा यातना दिएको भन्दै हङकङ स्थित एशियन ह्युमन राइट्स कमिशनले गम्भीर आपत्ति जनाएको छ ।
गत मंगलवार जनकपुरमा विवाहपञ्चमीको मेला पश्चात् नगरमा रहेको फोहरमैला सरसफाई गर्ने क्रममा गठबन्धनका समर्थकहरुलाई पक्राउ गरिएको थियो । एशियन ह्युमन राइट्स कमिशनले पक्राऊ परेकाहरुलाई धनुषाको सिडिओ दिलीप चापागाईं र एसपी लालमणी आचार्यले यातना दिएको भन्दै उक्त कार्यको प्रेस विज्ञप्तिमार्फत घोर भत्र्सना गरेको छ ।
यता हिरासतमै प्रहरीले यातना दिएको विरोधमा गत बिहीवारदेखि नै अनशनमा बसेका संजय कुमार यादव र उपेन्द्र रोहिताको स्वास्थ्य स्थिति गम्भीर भई सोमबार बेलुका सांझ ७ बजे उनीहरुलाई प्रहरीले जनकपुर अंचल अस्पतालको इमरजेन्सीमा भर्ना गरिएको छ । इमरजेन्सी कक्षमा उनीहरुको उपचार अझै जारी नै रहेको जनाईएको छ ।
यस्तै पछिल्लो मिति राखेर र उल्टो झूठो बयान लेखेर यातना दिई आफूहरुलाई प्रहरी प्रशासनले जबरजस्ती हस्ताक्षर गर्न लगाएको भन्दै मंसीर २६ गते आइतबारदेखि मुबारक हुसैन, अभिमन्यु महतो र फुलचन मुखिया गरी थप ३ जना पनि प्रहरी हिरासतमै अनशनमा बसेका छन् ।
जनकपुर उच्च अदालतमा कैदीहरुको तर्फबाट बिहीबार नै परेको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाई आइतबार नै सके पनि अदालतले फैसला न दिई मंसिर २९ गतेकोलागि पेशी दिएको थियो, जसले गर्दा निर्दोष कैदीहरु जाडोमा यातनापूर्वक प्रहरी हिरासत मैं विगत हप्तादेखि बस्न बाध्न भएका छन् ।
१७ जनालाई पक्राऊ गरेर हिरासतमा राखेकोमा दुई जना नाबालक छन् । उनीहरुको जन्मदर्ता प्रमाणपत्र समेत प्रहरीमा पेश गरे तापनि उनीहरूलाई नछाडिएको स्वतन्त्र मधेश गठबन्धनका सह–संयोजक कैलाश महतोले प्रेस विज्ञप्ति मार्फत जनाएका छन् ।