• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कथित राष्ट्रवादको नारा दिएर एमालेले साम्प्रदायिक ध्रुविकरण ल्याउन खोजेको छः नेता चौरसिया

कथित राष्ट्रवादको नारा दिएर एमालेले साम्प्रदायिक ध्रुविकरण ल्याउन खोजेको छः नेता चौरसिया

वीरगञ्ज, २८ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री अजय चौरसियाले कथित राष्ट्रवादको नारा दिएर एमालेले साम्प्रदायिक ध्रुविकरण ल्याउन खोजेको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन पर्सा शाखाले मङ्गलवार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य चौरसियाले संविधान जारी गर्ने बेलामा नै भएको सहमति बमोजिम संशोधनको प्रस्ताव आएको दावी गरे । संविधान जारी गर्ने बेलामा नै तत्काल संविधान जारी गरिए पछि संशोधन गर्दै जाने भनि सरकार र प्रतिपक्षी बिच सहमती भएकोले सोही बमोजिम पहिलो संशोधन भएको र सोही अनुसार यसपालीको संशोधन प्रस्ताव आएको बताए ।
संविधान कार्यान्वयनमा देखिएको समस्या समाधान गर्न संशोधन प्रस्ताव आएको भन्दै उहाँले यो संशोधन प्रस्तावलाई एमालेले राष्ट्रघाती भन्दै संसदलाई बन्दी बनाएको आरोप लगाए । राष्ट्रियताको नाममा अहिले भईरहेको आन्दोलनले राष्ट्रियता कमजोर पार्नुका साथै साम्प्रदायिक ध्रुविकरण बढाउने भएकोले तत्काल आन्दोलन स्थगित गरी संशोधनमा सहयोग गर्न सम्बन्धित पक्षसँग आग्रह गरे ।
मधेशको यो संशोधन प्रस्तावले मधेशको धेरै हदसम्मको समस्या समाधान गर्ने भएकोले यसमा साथ दिनुको सट्टा एमालेले यो प्रस्तावलाई अतिरञ्जित किसिमले राष्ट्रियताको नारा दिई नेपाली नेपालीमा फुट ल्याउन खोजेको आरोप लगाए । पत्रकारहरुको जिज्ञासामा केन्द्रीय सदस्य चौरसियाले मकवानपुर, सिन्धुली तथा उदयपुरको दक्षिणी भाग २ नम्वर प्रदेशमा राख्दा झनै उपयुक्त हुने बताए । उनले एमाले पार्टी केन्द्रिकृत प्रणालीमा चलिरहेकोले मधेशबाट चुनाव जितेका एमालेका सांसदहरुलाई जनताको अभिमतको कदर गर्नुपर्नेमा जोड दिए ।
नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा प्रेस युनियनका केन्द्रीय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहा, नेपाली कांग्रेस पर्सा क्षेत्र नम्वर–१ का सभापति विजय सर्राफ, २ का अरविन्द गुप्ता, ३ का गम्भिर साह तेली, ५ का रमेश पाण्डे, नेपाल तरुण दल पर्साका अध्यक्ष विरेन्द्र पटेल, नेविसंघका केन्द्रीय सदस्य सुधिर पटेल लगायतको उपस्थिति थियो ।