राजविराज, २७ मंसिर । सप्तरीवासीले कर तिर्नकालागि सिरहाको लहान धाउनुपर्ने बाध्यता टर्ने निश्चित भएको छ ।
आन्तरिक राजश्व कार्यालयको शाखा सप्तरी सदरमुकाम राजविराजमा स्थापना हुने भएको हो । अर्थमन्त्री कृष्ण वहादुर महराले सोमवार आन्तरिक राजश्व विभागलाई अविलम्व व्यवस्थापन गरेर राजविराजमा राजश्व कार्यालयको शाखा सञ्चालन गर्न निर्देशन दिएको पूर्व मन्त्री समेत रहेका सप्तरी क्षेत्र नम्वर–३ का सांसद उमेश कुमार यादवले जानकारी दिएका छन् ।
सगरमाथा अञ्चलमै सर्वाधिक कर तिर्ने करदाता रहेको सप्तरी जिल्लालाई उपेक्षा गर्दैआएकोले आफूहरुले थालेको प्रयास र पहलले मूर्त रुप पाएको उनले बताए । उनका अनुसार आगामी पुष महिनाभित्र राजविराजमा कार्यालय सञ्चालनमा आउने तथा उक्त कार्यालयको उद्घाटन गर्न अर्थ मन्त्री महरा आफै सप्तरी आउने सांसद यादवले ‘न्यूज टुडे’लाई जानकारी दिएका छन् । आन्तरिक राजश्व कार्यालय पुनस्र्थापनाकालागि सप्तरी उद्योग वाणिज्य संघले समेत वर्षौंदेखि पहल गर्दैआएको थियो ।
स्मरण रहोस् एक दशक अघि यस जिल्लामा आन्तरिक राजश्व कार्यालय रहे पनि विभिन्न कारण देखाई सिरहाको लहान सारिएको थियो । आन्तरिक राजश्व कार्यालय राजविराजको भवनमा हाल जिल्ला प्रशासन कार्यालय सञ्चालन हुँदैआएको छ । सप्तरीवासीले कर तिर्नकालागि सिरहाको लहान धाउनुपर्ने बाध्यता रहँदैआएको छ ।