• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
यसकारण मैले आमरण अनसन बसेंः विकास तिवारी

मैले यो आमरण अनसनमा गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पताल सुधारकालागि उठाएका सवालहरुका बारेमा म माननीय स्वास्थ्यमन्त्री गगन थापालाई जानकारी गराउन चाहन्छु ।
आमरण अनसन एक उपासना हो । यो एक राजनीतिक व्रत हो । यो पवित्रताको सिद्धान्तमा आधारित हुन्छ । यसर्थ यो कदापी प्रायोजित हुन सक्दैन । यदि यो प्रायोजित भएमा वा यसमा कुनै किसीमको व्यक्तिगत स्वार्थको कुरा प्रवेश भयो भने यसमा टिक्न सकिदैन र यो भंग भएर जान्छ ।
मन्त्रीजी, तपाईलाई मेरो अनसनको बारेमा विभिन्न सुत्रबाट विभिन्न किसिमले ब्रिफिङ्ग र जानकारीहरु प्राप्त भएको होला । जो स्वाभाविक पनि हो । तपाईको पार्टीको ब्रिफिङ्ग, आफ्नै होला भने स्थानीय प्रशासनको ब्रिफिङ्ग पनि आफ्नै किसिमले होला त्यसमा म प्रवेश गर्न चाहँदिन । मेरो भनाई यो छ कि मेरो यो उपासना र साधना कुनै व्यक्ति विशेषको विरुद्ध त भई यो यहाँको बेथिती र अनियमितता विरुद्ध हो । यसैले मेरो माग कुनै व्यक्ति विशेषलाई हटाई र अर्कोलाई ल्याउनेमा आधारित छैन र यस्तो माग मैले गरेको पनि छुइनँ ।
मन्त्रीजी, म यो अस्पतालमा २०७३ साल भाद्र महिनाको शुरुका अस्पतालमा आफ्नो १६ महिने बालकलाई लिएर आएको र डा. सरोज यादवको सल्लाहमा उसलाई भर्ना गरिएको थियो । बच्चालाई निमोनिया भएको थियो । मेरो छोराको उपचारको शिलशिलामा मैले यहाँ १० दिन बिताएँ । यहाँको वेथिति र अभाव देखेर अस्पताल प्रशासन समक्ष भाद्र ५ गते एकजना रोगीको पिताको हैसियतले ज्ञापन पत्र दिएँ । अस्पताल सुधारको माग गरेँ । यो ज्ञापन पत्र र सुधारको माग बारम्बार गर्दै आएँ तर अस्पताल प्रशासनले सुधार गरेनन् । बरु आलटाल र वेवास्ता गरे । परिणाम स्वरुप गाँधी दर्शन र गजेन्द्र दर्शनको सिद्धान्तको एक जना अनुयायी म विकास तिवारीलाई आमरण अनसन गर्नु बाहेक अरु विकल्प रहेन ।
मन्त्रीजी, म १० दिन यो अस्पतालमा रहँदा यहाँको परिस्थितिको बारेमा अध्ययन गरे । मन्त्रीजी, १० दिनमा मैले कहिले अस्पतालमा अण्डा वितरण भएको देखिन । मैले कहिले फलफूल वितरण भएको देखिन । जबकी खानाको चार्टमा ताजा स्याउ लेखिएको छ । मैले यो अस्पतालमा कहिले चिया पाउरोटी वितरण भएको देखिन । मैले खाना पनि आधी पेट दिने गरेको देखँे र गुनासो सुन्न पाएँ । यस सम्बन्धी अस्पताल प्रशासनसँग सोध्दा उत्तर आयो खाना डाक्टरको सिफारिश अनुसार दिने हो । मन्त्रीजी, यो अस्पतालका चिकित्सक कस्ता छन् जो की कहिले पनि विरामीलाई चिया, पाउरोटी, दुध र अण्डा खानामा दिन सिफारिश गर्दैन । उसले खाली हाफ डाइट मात्र लेख्छन् ।
अस्पतालमा निःशुल्क प्रसुति सेवा भनेको छ तर, यहाँ प्रसुति सेवा निःशुल्क नपाउने नेपाल अधिराज्यको एक मात्र अस्पताल यो हो । २८ दिने बच्चाको निःशुल्क उपचार भनेको छ तर मैले अस्पतालमा ४ दिने बच्चालाई समेत ८ सयको बिल थमाएको हेरेँ । यो अस्पतालमा १० दिने बिताउँदा मैले अस्पताल स्वास्थ्य मन्दिर नभई एक किसिमको फोहरको केन्द्रको रुपमा पाएँ । अस्पतालमा फिनाइलको प्रयोग देखिन । फिनाइलको प्रयोग नहुने एक मात्र अस्पतालको रुपमा हो यो । मन्त्रीजी, मेरो मन दुख्छ । जब म ७२ वर्षे गरीब बृद्धालाई औषधी किन्नु परेको देख्छु । अर्थात यो अस्पताल अभाव, अनियमितता, असुरक्षा र फोहरको केन्द्रको रुपमा रहेको छ ।
यसर्थ मन्त्रीजी, मैले आमरण अनसनमा उठाएका मागहरु सत्यताको सिद्धान्तका आधारित छ । सप्तरी जिल्ला २५ प्रतिशत दलितको बसोबास भएको जिल्ला हो । यो नेपाल अधिराज्यको सबैभन्दा बढी गरिबी भएको जिल्ला हो । यहाँका धनीहरु बाहिर गएर पनि उपचार गराउन सक्छन् । तर, हामी जस्ता निम्न आयश्रोत भएकाहरु कहाँ जाने ? यहाँ अल्ट्रासाउण्ड छ तर रेडियोलोजिस्ट छैन । दरबन्दी अनुसारको चिकित्सक छैन । अस्पताल समितिले तीन–चार महिनाभित्र करिब १०÷१२ जनालाई आफ्नै श्रोतमा भर्ना गरेको छ तर, एक जना रेडियोलोजिस्टको भर्ना गर्दैन । यो अस्पतालमा गार्डको व्यवस्था छैन । खानेपानीको व्यवस्था छैन । गरिब बिरामीलाई महँगो पानी किनेर खानु परेको छ ।
यसर्थ यावत समस्याहरुलाई उठाएको यो आमरण अनसन तपाईको देशका अस्पतालहरुलाई सुधार गर्ने अभियानमा सघाउ पुरयाउन र राज्यको प्रत्येक नागरिकले स्वास्थ्य सुविधा सहज पाउने संवैधानिक मौलिक अधिकार अन्तर्गतका र राज्यको सुशासनको सिद्धान्त अन्तर्गतका सवालहरु हुन् ।
यो अस्पताल देशका सबैभन्दा पुरानो अस्पताल भएपनि र पछिल्लो समय यो अस्पतालको नाममा राजनेता गजेन्द्रनारायण सिंहको नाम समेत जोडिएको भएतापनि यो अस्पताल देशको सबैभन्दा ठुलो रिफर सेन्टरको रुपमा रहेको छ । यो देशमा बि.पी. मेमोरियल छ, पुष्पलाल र मनमोहन मेमोरियलहरु छन् । मेरा मनमा एउटा भावना जाग्दछ यो अस्पतालका नाममा देशका महान प्रजातन्त्रवादी नेता गजेन्द्रनारायण सिंहको नाम जोडिएको भएपनि यो अस्पताल किन अरु अस्पताल जस्तै आधुनिक र सुविधा सम्पन्न बन्न सक्दैन ? यहाँको प्रसुति गृह किन निर्माण हुन सकेको छैन । यो एउटा राम्रो र सुखद् संयोग हो कि मैले उठाएका मागहरुलाई सम्बोधन गर्न तपाई स्वयं आउनु भएको छ । यहाँको कदमलाई धन्यवाद दिँदै हामी बीचमा हुने सहमतिले मलाई लाग्दछ भविष्यमा यो अस्पतालको बृहत्तर विकासको बाटो खोल्ने नै छ । मैले आमरणमा बस्दा अनसनमा उठाएका सवालहरुलाई र अनसनमा ऐक्यबद्धता प्रदर्शन गर्ने सम्पूर्ण विद्यार्थी, युवा, किसान, पत्रकार, वकील, नागरिक समाजलगायत सम्पूर्ण जिल्लावासीमा हृदयदेखि हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु ।
(प्रस्तुत जानकारी पत्र नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीले आमरण अनसनमा रहँदा स्वास्थ्यमन्त्री गगन थापालाई बुझाउनकालागि तयार पारेका हुन् ।)