राजविराज, २१ मंसिर । सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले पत्रकार कुटपीटको घटनामा आत्मआलोचना सहित दुःख व्यक्त गरेपछि पत्रकारहरुको आन्दोलनका सम्पूर्ण आन्दोलन टुङ्गिएको छ ।
राजविराजस्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित छलफलमा आत्मआलोचित हुँदै घटनाप्रति दुःख व्यक्त गरेपछि नेपाल पत्रकार महासंघ सप्तरीले गर्दैआएको आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन भएको हो । प्रहरी उपरीक्षक लोहनीले भीड नियन्त्रणका क्रममा अज्ञातवश यस्तो घटना भएको भन्दै आफू पत्रकारहरुको सुरक्षा र प्रेस स्वतन्त्रताप्रति गम्भीर रहेको प्रतिवद्धता व्यक्त गरे । सोही छलफलमा पीडित पत्रकार यादव र एसपी लोहनीले हात मिलाएर विवाद समाधान भएको महासंघका कार्यवाहक अध्यक्ष श्रवण देवले जानकारी दिएका छन् ।
योग गुरु रामदेव सप्तरीको छिन्नमस्ता आउँदा गत मंसिर ११ गते एसपी लोहनीले सप्तरीका पत्रकार चन्दन यादवलगायतका पत्रकारहरुलाई दुव्र्यवहार गरेको भन्दै महासंघको आह्वानमा पत्रकारहरु आन्दोलित रहँदै आएका थिए ।