धनुषा, २१ मंसिर । जनकपुरको जानकी मन्दिर सरसफाई गरिरहेका २० जना मधेशी युवाहरुलाई प्रहरीले पक्राउ गरेका छन् ।
मङ्गलवार विवाह पञ्चमी महोत्सव पश्चात जानकी मन्दिरलाई सरसफाई गरिरहेका स्वतन्त्र मधेश गठबन्धनका अभियानकर्ता तथा समर्थहरुलाई प्रहरीले पक्राउ गरेको हो । विवाह पञ्चमी मेलामा सहभागी हुन आएका श्रद्धालुहरुबाट फोहर भएका जानकी मन्दिरलाई सरोकारवाला निकायले सरसफाई नगरेपछि स्वराजीहरुले सरसफाई कार्य थालेका थिए ।
युवाहरुले मन्दिर सरसफाई कार्यक्रमलाई नरोकेपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट थप दुई भ्यान प्रहरी घेरा हालेर पक्राउ गरिएको जनाईएको छ । ती युवाहरुमध्ये ‘मै मधेशी हुँ’ लेखिएको टोपी लगाएकाहरुलाई मात्र पक्राउ गरेर गाडी राखेर लागेका थिए । पक्राउ परेकाहरुमा स्वतन्त्र मधेश गठबन्धनका जिल्ला अध्यक्ष रामाशंकर महासेठ, संजय यादव, विष्णुदेव यादव, मनोज मरवैता, विरेन्द्र मण्डल, उपेन्द्र यादव, मोबारक राइन, फुलचन मुखिया, धिरज यादव, धिरेन्द्र यादव लक्ष्मण र अभिमन्यु लगायत २० जना रहेको गठबन्धनले जनाएको छ ।
युवाहरुलाई पक्राउ गरिरहेको क्रममा स्थानीय सञ्चारकर्मीहरुले फोटो र भिडियो लिन खोज्दा फोटो लिन पाउँदैन भनी हप्काउँदै समाचार संकलनमा अवरोध पुर्याउने प्रयास समेत गरेका थिए । पत्रकारको स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै प्रहरीले समाचार संकलनमा लगाएको रोक प्रति मधेशी पत्रकार समाज धनुषाले आपति जनाउंदै प्रहरीको रवैयाप्रति घोर भत्र्सना गरेको छ ।