• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रहरी अधिकृतलाई कार्वाहीको मागः सिडिओ कार्यालयको गेटमा पत्रकारहरु धर्ना बस्ने

प्रहरी अधिकृतलाई कार्वाहीको मागः सिडिओ कार्यालयको गेटमा पत्रकारहरु धर्ना बस्ने

राजविराज, २० मंसिर । विभिन्न पेशागत संघ–संगठनका पदाधिकारी एवं राजनीतिक दलका नेताहरुले सप्तरीका पत्रकारहरुद्वारा थालिएको आन्दोलनप्र्रति ऐक्यबद्वता जनाउँदै दोषी प्रहरी अधिकृतलाई कार्वाहीको हुनुपर्नेमा जोड दिएका छन् ।
योग गुरु रामदेव सप्तरीको छिन्नमस्ता आउँदा गत मंसिर ११ गते एसपी दिवेश लोहनीले सप्तरीका पत्रकार चन्दन यादवलाई कुट्दै अन्य पत्रकारहरुसँग दुव्र्यबहार गरेका थिए । घट्नाको बिरोधमा सप्तरीका पत्रकारहरुले गृहमन्त्रीलाई स्थानीय प्रशासन मार्फत सरुवाको माग गर्दै ४८ घण्टे अल्टिमेटम दिएका थिए ।
ज्ञापन पठाउँदा पनि सम्बन्धित निकायले कुनै किसिमको ध्याद नदिँदा पत्रकारहरु नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अगुवाईमा पछिल्लो चार दिन यता आन्दोलन गर्दै आएका छन् । आन्दोलन अन्तर्गत पेशागत संघ–संगठन तथा राजनीतिक दलका नेताहरुसँग महासंघको सभाहलमा सोमवार अन्तरकृया गरिएको हो ।
प्याव्सन सप्तरीका अध्यक्ष पञ्चदेव यादवले घाइते बाघलाई राखिराख्नु खतरनाक हुन सक्ने भन्दै अविलम्ब सरुवा हुनुपर्नेमा जोड दिए । सप्तरी जिल्ला बार एशोसिएशनका अध्यक्ष राम प्रसाद चौधरीले जारी आन्दोलनमा ऐक्यबद्वता जनाउँदै कानुन व्यवसायीहरुबाट हुने हरेक किसिमको सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरे ।
गाविस कर्मचारी संघका अध्यक्ष पर्शुराम यादवले पत्रकारहरुको आन्दोलनमा आफूहरु तन, मन र धनले सहयोग गर्ने बताउँदै हरेक आन्दोलनमा सहभागिता जनाउने बताए । शिक्षक महासंघ सप्तरीका अध्यक्ष फुलेश्वर मण्डलले एसपी स्वयंले पत्रकारलाई कुट्ने घट्नाको जति निन्दा गरेपनि कम हुने बताउँदै पत्रकार कुट्ने एसपीको सरुवा हुनैपर्ने बताए । उनले आन्दोलनमा शिक्षकहरुको ऐक्यबद्वता रहेको बताए ।
एन प्याब्सनका जिल्ला अध्यक्ष बौकु साहले आन्दोलनलाई जारी राख्न आग्रह गर्दै एन प्याव्सनको पूर्ण सहयोग रहने बताए । बैद्विक समाजका अध्यक्ष ई. सुदम्बर यादवले अन्य संघ–संगठनसँग पनि सहकार्य र समन्वय गरी आन्दोलनलाई सशक्त बनाउनुपर्ने धारणा व्यक्त गरे ।
नागरिक संजालका पूर्व अध्यक्ष सुखराम यादवले पत्रकारहरुको आन्दोलनमा सबैको सहयोग रहने विश्वास व्यक्त गरे । कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सह महामन्त्री जयप्रकाश ठाकुर, राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डल, मधेशी मोर्चाका जिल्ला संयोजक अमरनाथ मण्डल, सद्भावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादव, रामसपाका जिल्ला अध्यक्ष सतिश सिंह, विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष किशोर कुमार यादवसहितकाले आन्दोलनमा पूर्ण समर्थन रहेको भन्दै सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकारद्वय शिवहरि प्रसाद भट्टराई, अनिल कुमार अनल, प्रेस युनियनका केन्द्रीय सदस्य अवधेश कुमार झा, महासंघका सल्लाहकार जितेन्द्र खड्गा, पार्षद बैद्यनाथ यादव, श्यामसुन्दर यादवसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।
यसैगरी पत्रकार महासंघ सप्तरीले आफूहरुको मागप्रति सम्वन्धित निकाय गम्भीर नभएको ठहर गर्दै मङ्गलवार बिहान ११ देखि १२ बजेसम्म एसपी दिवेश लोहनी विरुद्व जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने कार्यक्रम तय भएको कार्यवाहक अध्यक्ष श्रवण देवले जानकारी दिएका छन् । विहान ११ बजे अघि स्थानिय शिव मन्दिर प्राङ्गणमा उपस्थित भई धर्ना कार्यक्रममा सहभागी हुन जिल्लाका सम्पूर्ण पत्रकारहरुसँग आग्रह गरिएको छ ।