राजविराज, १९ मंसिर । पत्रकार कुटपीट गर्ने प्रहरी उपरीक्षक दिवेश लोहनीको सरुवाको माग गर्दै आइतवार सप्तरीका पत्रकारहरुले राजविराजमा मैनवत्ती जुलुस प्रदर्शन गरेका छन् ।
चरणवद्ध आन्दोलनमा उत्रेका पत्रकारहरुले आइतवार मैनवत्ती जुलुस प्रदर्शन गरेका हुन् । दिउँसै हातमा मैनवत्ती बालेर सडकमा निस्किएका पत्रकारहरुले आफुमाथि भएको अन्यायमाथि राज्यको ध्यानाकर्षण नभएको भन्दै प्रदर्शन गरिएको हो । नेपाल पत्रकार महासंघ सप्तरीको अगुवाईमा एसपी लोहनी विरुद्ध नाराजुलुससहित प्रदर्शन गरिएको छ ।
मंसिर ११ गते छिन्नमस्ता मन्दिर दर्शन गर्न आएका भारतीय योग गुरु रामदेवको सुरक्षाका नाममा लोहनीले चन्दन यादवलगायतका पत्रकारलाई कुटपीट गर्दै दुव्र्यवहार गरेका थिए । पाँच दिन अघि नेपाल पत्रकार महासंघ सप्तरीले प्रमुख जिल्ला अधिकारी वलदेव गौतम मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र पठाएर ४८ घण्टे अल्टिमेटम पठाएका थिए । उक्त अल्टिमेटमप्रति सम्वन्धित निकायले चासो नदेखाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको महासंघका कार्यवाहक श्रवण देवले बताए । पहिलो दिन पत्रकारहरुले हातमा कालोपट्टि वाँधेर प्रदर्शन गरेका थिए भने दोश्रो दिन शनिवार एसपी विरुद्ध नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।
यता महासंघका कार्यवाहक अध्यक्ष देवले प्रहरी उपरीक्षक लोहनीले पत्रकारहरुलाई हातपात गर्दै दुव्र्यवहार गरेको घटनाले पत्रकारहरुको साख घटाउने र मान मर्दन गर्ने काम भईरहेको भन्दै गम्भीर आपत्ति जनाएको छ । उक्त घट्नाको विषयलाई लिएर सप्तरीका पत्रकारहरु आन्दोलित रहेको अवस्थामा पत्रकारहरुको माग सम्वोधन नगरी पत्रकार सम्मेलनको आयोजना गरिएकोमा भन्दै महासंघले आश्चर्य व्यक्त गरिएको छ ।
प्रहरीले आयोजना गरेका कार्यक्रममा सहभागी नहुन, प्रहरीका कुनै पनि गतिविधी, पत्रकार सम्मेलन र कार्यक्रमको रिपोर्टिङ्ग नगर्न समेत प्रेस विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
यता सप्तरी जिल्लाका पत्रकारहरु न्यायको माग गर्दै आन्दोलनरत रहेको अवस्था केही पत्रकारहरु भने एसपी लोहनीको पत्रकार सम्मेलनमा सहभागी भएका छन् । जिल्लाका सञ्चारकर्मी र सञ्चारमाध्यमहरुले प्रहरी सम्वन्धि समाचार वहिष्कार गरेका छन् ।