बोधराज सुवेदी, महुली, १७ मंसिर । सामाजिक विकृतिको रुपमा रहेको दहेज प्रथा विरुद्ध शुक्रवार महुलीमा सडक नाटक प्रर्दशन गरिएको छ ।
युनिसेफको सहयोगमा नेपाल रेडक्रस सोसाइटी शाखा सप्तरीको आयोजनामा सो नाटक प्रदर्शन गरिएको हो । कलाकार जीवछ दासद्धारा निर्देशित उक्त नाटकमा सरस्वती राउत, डिपी शास्त्री, सुभाष यादव, अनिरुद्ध ठाकुर, वरदान श्रेष्ठ, दिलकान्त चौधरी, निशान्त चौधरी, शिवानी, ज्योति मगर, विनिता चौधरी, दशनी यादव, पुनिता शर्मालगायतका कलाकारले अभिनय गरेका थिए ।
समाजमा व्याप्त महिला हिंसा, वाल विवाह, दहेज प्रथा, सरसफाई लगायतका विकृतिहरु विरुद्ध जनचेतना जगाउने उदेश्यले अभियानको रुपमा नाटक प्रदर्शन गरिएको आयोजक संस्थाका कार्यक्रम अधिकृत प्रशान्त श्रेष्ठले जानकारी दिएका छन् । हालसम्म सप्तरी जिल्लाको विभिन्न ३५ स्थानमा उक्त नाटक प्रदर्शन गरिएको जानकारी दिंदै अधिकृत श्रेष्ठले गत मंसिर नौ गतेवाट शुरु गरिएको उक्त अभियानबाट समाजमा सकारात्मक प्रभाव परेको वताए ।
‘किशोर किशोरी भए दक्ष बन्छ देशको भविष्य’ भन्ने मुल नाराका साथ सप्तरीको पिप्रा पश्चिम, हर्दिया, खोजपुर, पन्सेरा, कल्याणपुर, रायपुर, तेरहौता, सितापुर, प्रसवनी, जण्डौल, बकधुवा लगायत १५ गाविसहरुमा प्रर्दशन गर्ने लक्ष्य रहेको रेडक्रसका कार्यक्रम संयोजक ब्रहम्देव यादवले जानकारी दिएका छन् । सो नाटकको प्रभावले सप्तरीको टाउको दुखाईको रुपमा रहेको दहेज प्रथा, वालवालिका शिक्षा र वाल विवाह न्युनिकरणमा सघाउ पुग्नेमा सरोकारवालाहरुले विश्वास व्यक्त गरेका छन् ।