• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

महिलाहरुलाई न्याय दिलाउन आयोग गम्भीर छः घिमिरे

महिलाहरुलाई न्याय दिलाउन आयोग गम्भीर छः घिमिरे

राजविराज, १३ मंसिर । लैङ्गिक हिंसा न्यूनिकरणमा स्थानीय सरोकारवालाहरुको भूमिका विषयक अन्तरसम्वाद कार्यक्रम सोमवार सम्पन्न भएको छ ।
महिला तथा बालबालिका कार्यालय सप्तरीको संयोजनमा राष्ट्रिय महिला आयोगद्वारा कार्यक्रम आयोजना गरिएको हो । अन्तरसम्वाद कार्यक्रममा बोल्दै आयोगकी कार्यवाहक अध्यक्ष भगवती घिमिरेले लैङ्गिक हिंसा र महिला सशक्तिकरणकालागि विभिन्न कार्यालयहरुमा बजेट आए पनि त्यसको सदुपयोग हुन नसकेको बताईन् । दैनिकजसो महिला हिंसाका घटनाहरु भईरहेको बताउँदै उनले भनिन् ‘छोरीलाई पैतृक सम्पतिमा अधिकार दिए पनि कार्यान्वयनमा आउन सकेको छैन, सम्पत्तिमा महिलाको पहुँच हुन सकेको छैन ।’
सप्तरीसहित मधेशका जिल्लाहरुमा महिला हिंसाका घटनाहरु अत्यधिक भईरहेको भन्दै दोषीलाई कानूनी कठघरामा ल्याउनुपर्नेमा उनले जोड दिइन् । आयोगकी कार्यवाहक अध्यक्ष घिमिरेले आयोगमा परेका उजुरीहरु समाधान गर्न आयोग प्रतिवद्ध रहेको बताउँदै भनिन् ‘महिलाहरुलाई न्याय दिलाउन राजनीतिक दल, संघसंस्था, सञ्चारकर्मीसमेतलाई गम्भीर बन्न आग्रह छ ।’
कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, जिल्ला न्यायाधिवक्ता हरि पोखरेललगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रममा विभिन्न क्षेत्रसँग सम्वन्धित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।