राजविराज, १२ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीको आइतवार बसेको बैठकको नव आगन्तुक प्रहरी उपरीक्षक दिवेश लोहनीद्वारा आयोजित परिचयात्मक कार्यक्रम वहिष्कार गर्ने निर्णय गरेको छ । मोर्चाका जिल्ला संयोजक अमरनाथ मण्डलको अध्यक्षतामा आइतवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमवार जिल्ला स्थित राजनीतिक दलहरुसँग परिचयात्मक कार्यक्रमकालागि बोलाएका थिए । योगगुरु रामदेवको कार्यक्रमको समाचार सङ्कलनका क्रममा शनिवार प्रहरी उपरीक्षक दिबेश लोहनीको नेतृत्वमा पत्रकारहरुमाथि हातपात गरेको कार्यप्रति मोर्चाले घोर भत्र्सना गर्दै जिल्ला प्रहरी कार्यालयको कार्यक्रम वहिष्कार गर्ने निर्णय भएको संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् । बैठकले दोषीलाई कडा कार्वाही गर्न सम्वन्धित निकायसँग माग गरेको छ ।
यसैगरी राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा आमरन अनसनमा बसेका अनसनकारीहरुसँग अविलम्ब वार्ता गरी समस्या समाधान गर्न मोर्चाले अस्पताल प्रशासनसँग आग्रह गर्ने निर्णय भएको राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र कुमार मण्डलले जानकारी दिएका छन् ।
यसैबीच नेपाल पत्रकार महासंघ शाखा सप्तरीले समेत नव आगन्तुक प्रहरी उपरीक्षक लोहनीसँगको परिचयात्मक कार्यक्रम वहिष्कार गर्न जिल्ला सम्पूर्ण पत्रकारहरुसँग आग्रह गरेको छ । एसपी आफैले पत्रकारहरुलाई दुव्यवहार गरेको तथा पत्रकारहरु आन्दोलित रहेकोले सोमवार आयोजना हुन लागेको उक्त कार्यक्रममा सहभागी नहुन महासंघका कार्यवाहक अध्यक्ष श्रवण देवले प्रेस विज्ञप्तिमार्फत आग्रह गरेको छ ।