भैरहवा, १२ मंसिर । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकारले माग सम्वोधन गर्ने सम्भावना कम हुँदैगएकोले आन्दोलनकालागि तयार रहन नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।
प्रेस मञ्च नेपाल रुपन्देही शाखाले आइतवार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले सो कुरा बताएका हुन् । महतोले मधेस आन्दोलनका मागहरु सम्बोधन गर्न नसक्ने संसोधन बिधेयक आए आफूहरुलाई मान्य नहुने जिकिर गर्दै मधेसको भुभाग पहाडमा मिसाउन नहुनेमा जोड दिए ।
हरेक किसिमको भेदभाव मुक्त समाजको निर्माण नै हाम्रो मुख्य एजेन्डा रहेको दाबी गर्दै ऐतिहासिक मधेस आन्दोलनको उपलब्धिहरु संस्थागत गर्न मधेसीहरु चनाखो हुनु पर्ने आग्रह गरे । महतोले संविधान संसोधन नभएसम्म सरकारले मधेसमा कुनै पनि निर्वाचन गर्न नसक्ने चेतावनी दिँदै नेपालमा बस्ने सबै नेपाली भएको बताउँदै राज्यले नै मधेसी पहाडी सामुदायमा भेदभाव उत्पन्न गराएको आरोप लगाए ।
महतोले संविधान संसोधनको प्रक्रिया अगाडी नबढे वा संसोधन प्रस्तावको विरोध भएमा कुनै पनि बेला आन्दोलनको घोषणा हुन सक्ने भएकोले आन्दोलनका लागि तयारी अवस्थामा रहन आफ्ना नेता कार्यकर्तालाई आग्रह समेत गरे । संविधान संसोधनको प्रस्ताव अघि नबढे वा प्रस्तावको विरोध भएमा तत्काल यसको लागि आन्दोलन गर्नुपर्ने हुन्छ उनले भने, ‘तपाईहरु तयारी अवस्थामा रहनुस जुनसुकै बेला आन्दोलनको घोषणा हुन सक्छ ।’
एमालेले संशोधन प्रस्तावको बिरोध गर्दै आएको बताउदै उनले नेपाली जनताको हितमा हुने संशोधन प्रस्ताव दर्ताको बिरोध गरे अगामी आन्दोलन एमालेकै बिरोधमा छेडिने चेतावनी दिए । पत्रकार सम्मेलनमा सद्भावना पार्टीका उपाध्यक्ष ओम प्रकास पादव (गुल्जारी), केन्द्रीय सदस्य मोहन चौधरी ,प्रेस मंच नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेल लगायतको उपस्थिति रहेको थियो ।