राजविराज, १२ मंसिर । राजविराजस्थित जिल्ला प्रशासन कार्यालयमा आइतवार करिब १२ बजेको समयमा बम फेला परेपछि दिनभरि दैनिक कामकाज प्रभावित भएको छ ।
प्रशासन कार्यालयको कोठा नम्वर–५ मा नागरिकता÷राहदानी फाँटबाट झोलामा राखिएको बम फेला परेको हो । जिल्ला प्रशासन कार्यालयमा बम रहेको हल्ला भएपछि कार्यालयमा काम गरिरहेका कर्मचारी तथा सेवाग्राही त्रसित भएका छन् । बमका कारण प्रशासन कार्यालयको कामकाज प्रभावित रहन पुगेको थियो । 
बम निष्कृय गर्न कृष्ण दल गणका सह–सेनानी आशिष तामाङ्ग नेतृत्वमा नेपाली सेनाको टोलीले निष्क्रिय पार्ने प्रयासमा जुटेका छन् । १२.३० बजेदेखि टोली निष्कृय पार्ने प्रयासमा रहे पनि बेलुका ४ बजेसम्म निष्क्रिय हुन नसकेको तामाङ्गले जानकारी दिएका छन् । यता जिल्ला प्रशासन कार्यालय आसपास क्षेत्रबाट सर्वसाधारणलाई खाली गराईएको छ भने उक्त सडकमा समेत आवागमनमा रोक लगाईएको छ ।
यसैबीच जनजान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का केन्द्रीय संयोजक जयकृष्ण गोइतले आफूहरुले जिल्ला प्रशासन कार्यालयमा बम राखेको भनी जिम्मेवारी लिएको छ । तराईको मुक्ति स्वतन्त्रता विरुद्ध नेपाली शासनका जिल्ला प्रशासकहरुको आदेशमा प्रहरी र सशस्त्र प्रहरीहरुले भविष्यका होनहारलगभग ३०० मुक्तिकामी तराईका सपूतको कायरतापूर्ण गैरन्यायिक हत्या तथा करिब १ हजार ५ सय जनालाई गैरकानूनी बन्दी बनाएको गोइतद्वारा आइतवारै जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
संघियता पक्षधरको शान्तिपूर्ण आन्दोनलाई कथित नियन्त्रण गर्ने नाममा सेना समेत परिचालन गरेर मानव अधिकारको विश्वव्यापी मान्यता विपरीत मात्र होईन कि नेपाल सरकारले हस्ताक्षर गरेका मानवअधिकारसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय घोषणा एवं प्रतिवद्धताहरु सम्मको उलंघन गरेर पेट, पीठ्यु, छाती र टाउकोमा गोली ठोकेर निर्दोष, निहत्त्ता, निरीह बालक, वृद्ध र महिलासहितको नृशंस हत्या गरिएको प्रेस विज्ञप्तिमा जनाईएको छ ।
जिल्ला प्रशासकहरुले तराईका मूलनिवासीहरुको कायरतापूर्ण हत्याको श्रृङ्गखलाद्वारा तराईमा नेपाली औपनिवेशिक शासन टिकाउने मूर्खतापूर्ण हठ गरिरहेको भन्दै यस्तो स्थितिमा नेपाली बन्दूकबाट मुक्ति पाउनकोलागि तराई(मधेश)का मूलनिवासी(मधेशी)हरुलाई पनि बन्दूक समाउन अपरिहार्य हुन गएको गोइतद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

