राजविराज, ११ मंसिर । योगगुरु रामदेवको कार्यक्रमको समाचार सङ्कलनका क्रममा एक दिन अघि मात्र जिल्लामा सरुवा भई आएका प्रहरी उपरीक्षक दिबेश लोहनीले दुई सञ्चारकर्मीलाई हातपात गर्दे दुव्र्यबहार गरेको भन्दै नेपाल पत्रकार महासंघ सप्तरीले भत्र्सना गरेका छन् ।
महासंघका कार्यवाहक अध्यक्ष श्रवण कुमार देवले शनिवार साँझ प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको भत्र्सना गरेका हुन् । योग गुरु रामदेव छिन्नमस्ता मन्दिरमा पूजापाठ गर्न जाँदा उनको पछाडि भारतीय पत्रकारहरु क्यामेरा लिएर भित्र जान लाग्दा सप्तरीका संचारकर्मीहरु समेत पूजा गर्दै गरेको तस्वीर खिंच्न अगाडि बढेका थिए । त्यस क्रममा अगाडि बढेका नेपाल पत्रकार महासंघ सप्तरीका कार्यसमिति सदस्य चन्दन यादव र रासस सम्वाददाता अरुण यादवलाई प्रहरी उपरीक्षक लोहनी स्वयंले हातपात गरेको विज्ञप्तिमा जनाईएको छ ।
भारतीय पत्रकारलाई सहज प्रवेश दिने र नेपाली पत्रकारलाई नै हातपात गर्ने उपरीक्षक लोहनीको कदमको जति निन्दा गरेपनि कम हुने विज्ञप्तिमा भनिएको छ । उक्त घट्नाको घोर भत्र्सना गर्दै समाचार संकलनकालागि जाने पत्रकारहरुलाई हातपात र दुव्र्यबहार गर्ने उपरीक्षक लोहनीलाई कार्वाही गर्दै तत्काल सरुवाको माग गरिएको छ । माग पूरा गर्नेतर्फ कुनै तत्परता नदेखाइए सम्पूर्ण सञ्चारकर्मी कडा आन्दोलन गर्न बाध्य प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी मधेशी पत्रकार संघ सप्तरीका सचिव समेत रहेका पत्रकार चन्दन यादव र रासस सम्वाददाता अरुणलाई प्रहरी उपरीक्षक लोहनीले गरेको दुव्र्यवहारको कडा शब्दमा भत्र्सना गर्दै यस्ता क्रियाकलाप नदोहोर्याउन प्रेस विज्ञप्तिमार्फत सम्वन्धित पक्षको ध्यानाकर्षण गराएका छन् । यस्तैबीच प्रेस मञ्च सप्तरीका सह–सचिव ध्रुवकुमार मण्डलले प्रेस विज्ञप्तिमार्फत उक्त घटनाको भत्र्सना गर्दै दोषीमाथि कार्वाहीको माग गरेका छन् ।