• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

खतिवडा विरुद्व दर्ता भएको अविश्वासको प्रस्ताव विशेष साधारणसभाबाट पारितः देवलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

खतिवडा विरुद्व दर्ता भएको अविश्वासको प्रस्ताव विशेष साधारणसभाबाट पारितः देवलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

राजविराज, ९ मंसिर । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष प्रकाश खतिवडाबिरुद्व दर्ता भएको अविश्वासको प्रस्ताव विशेष साधारणसभाले पारित गरेको छ ।
शाखाको विहीवार सम्पन्न विशेष साधारणसभाले खतिवडाबिरुद्वको अविश्वासको प्रस्ताव पारित गरेको हो । महासंघको विधान बमोजिम अविश्वासको प्रस्ताव दर्ता भएपछि राजविराज जेसिजमा विशेष साधारणसभा बोलाएर छलफल गरी प्रस्ताव पारित गरिएको छ ।
अविश्वास प्रस्ताव दर्ता भएपछि एक बर्षदेखि बारम्बार स्पष्टिकरण दिनका लागि ताकेता गरे पनि खतिवडाले कुनै वास्ता नगरेको ठहर गर्दै विशेष साधारणसभाले अविश्वासको प्रस्ताव पारित गरेको जनाईएको छ । साधारणसभाले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष श्रवणकुमार देवलाई तोकिएको छ । यसका साथै बैंक तथा वित्तिय संस्थाहरुमा रहेको महासंघको खातामा हस्ताक्षर परिवर्तन गर्ने निर्णय गरेको छ ।
यस्तै संघर्ष समितिले महासंघको कार्यालयमा लगाएको ताला पनि खोल्ने सहमति भएको छ । संघर्ष समितिद्वारा राखिएका बिभिन्न मागहरु सम्बोधन भइसकेको र लामो समयदेखि महासंघको दैनिक कामकाज अवरुद्व रहेको दृष्टिगत गरी ताला खोल्ने सहमति साधारणसभाले गरेको छ ।
महासंघले आर्थिक कारोबारसहित अन्य गतिविधिबारे उचित छानबिन गर्न महासंघका पूर्व सभापति बिष्णु कुमार मण्डलको संयोजकत्वमा श्यामसुन्दर यादव र रामनारायण विश्वास सदस्य रहने गरी छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । समितिलाई छानबिन तथा आवश्यक कार्वाही गर्नकालागि सम्बन्धित निकायमा सिफारिस गर्ने अधिकार समेत विशेष साधारणसभाले दिएको छ ।
सभाले महासंघको नयाँ सदस्यता बितरण र नवीकरणगर्नकालागि शाखाका पूर्व अध्यक्ष बैद्यनाथ झाको संयोजकत्जमा समिति बनाइएको छ । समितिमा प्रेस काउन्सिलका पूर्व सदस्य देवराम यादव र गणेशलाल देव सदस्य रहेका छन् ।
विशेष साधारणसभाले लामो समयदेखि वैदेशिक रोजगारीमा गएका दुई जना कार्यसमिति सदस्यको पद रिक्त गरेको छ । अम्बिका दाहाल र रामनारायण यादवको पद रिक्त गर्ने निर्णय सभाले गरेको छ ।