• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

चार बुँदे संशोधन समस्याको समाधान होइन, देशमा द्वन्द्व निम्त्याउँछः अध्यक्ष यादव

चार बुँदे संशोधन समस्याको समाधान होइन, देशमा द्वन्द्व निम्त्याउँछः अध्यक्ष यादव

राजविराज, ८ मंसिर । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले संविधान संशोधनबारे भईरहेको छलफलबारे आफूहरुलाई औपचारिक जानकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
संघीय प्रेस फोरम सप्तरीले सदरमुकाम राजविराजमा बुधवार विहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो असन्ुतष्टि व्यक्त गरेका हुन् । विभिन्न सञ्चारमा माध्यमहरुबाट आफूले दलहरु बीच भईरहेको चार बुँदे छलफलबारे जानकारी पाएको बताउँदै उनले भने ‘चार बुँदे संशोधनले देशको समस्या समस्या समाधान गर्नुको साटो द्वन्द्व निम्त्याउने निश्चित छ ।’
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक समेत रहेका यादवले मधेशी आदिवासी, जनजातीलगायतका उत्पीडित समुदायले उठाएका राष्ट्रिय मुद्दाहरुको संशोधन नगरिकन संशोधनकालागि मात्र संविधान संशोधन प्रस्ताव निरर्थक हुने उनले दावी गरे । समानुपातिक, समावेशी, सिमांकन, भाषिक अधिकारलगायत पहिचानसँग सम्वन्धित राष्ट्रिय सवालहरुलाई सहमतीका आधारमा सम्बोधन हुने गरी विधेयक ल्याउनुपर्नेमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले जोड दिँदै भने ‘राष्ट्रिय समस्याहरुको सम्बोधन नगरी ल्याईने संशोधन प्रस्ताव आफुहरुलाई मान्य हुँदैन ।’ जातीय, वर्गीय, क्षेत्रीय, लैङ्गिक विभेद लगायतका असमानताहरुको सम्बोधन भएमात्र देशको राजनीतिक समस्या समाधान हुने उनले बताए ।
नेपाली भाषा लादिएका कारण मातृभाषाहरुको अस्तित्व संकटमा परेको बताउँदै देशमा लादिएको भाषिक विभेदलाई अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । ‘देशमा बोलिने मातृभाषाहरुलाई सूचीकृत गरी भाषिक विकासकासाथै कामकाजको भाषा बनाउनुपर्छ’ अध्यक्ष यादवले भने ‘राज्यले हालसम्म नेपाली भाषाको विकासकालागि मात्र चिन्तित रहेको तथा अन्य भाषाहरुलाई मृत बनाउने षडयन्त्रमा लागेको आरोप लगाउँदै मातृभाषाहरुमा पठन–पाठनको व्यवस्था मिलाउनु आवश्यक छ ।’
नागरिकताको विषयमा मधेश विरोधी दलहरुले गलत ढङ्गले परिभाषित गरी आम जनतालाई भ्रममा पार्ने षडयन्त्र गरिरहेको उनले बताए । ‘विदेशीलाई नेपाली नागरिकता दिएर राष्ट्रपति बनाउनुपर्छ भन्ने माग हाम्रो होइन’ अध्यक्ष यादवले भने ‘वैवाहिक सम्वन्धका आधारमा दिईने नागरिकतामा विभेद हुनुहुँदैन, विवाह गरेर आएकी बुहारीलाई नागरिकताकै आधारमा गरिने विभेदलाई कुनै पनि हालतमा न्यायोचित मानिदैन ।’ वर्तमान संरचना महेन्द्रकालीनभन्दा पनि खतरनाक रहेकोले राज्य पुनर्संरचना आयोगको प्रतिवेदन र अन्तरिम संविधानको आधारमा राज्यपुनर्संरचना हुनुपर्नेमा उनले जोड दिए ।
संघीय प्रेस फोरमका जिल्ला अध्यक्ष श्यामसुन्दर यादवको अध्क्षतामा आयोजित पत्रकार सम्मेलनमा पार्टीकी उपाध्यक्ष रेणु यादव, राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य एवम् पूर्व सभासद् सूर्यनाराथ यादव, सांसद लक्ष्मी कुमार चौधरी, जिल्ला अध्यक्ष दिनेशकुमार यादवलगायतको उपस्थिति थियो ।