राजविराज, ६ मंसिर । केही महिना अघिसम्म सप्तरीको जमुनी मधेपुरा गाउँ विकास समितिको वडा नम्वर–८ छपकी र वडा नम्वर–९ भथौलका वासिन्दा बीच प्रायःजसो विवाद हुँदैआएको थियो । त्यो विवाद सिमाना वा अन्य कुनै विषयकालागि होइन, विद्युतको विषयलाई लिएर विवाद हुँदैआएको थियो ।
छपकीमा राखिएको ५० केभीको ट्रान्सफर्मर पटक–पटक ओभर लोड भएर जल्ने गथ्र्यो । उक्त ट्रान्सफरबाट दुईटै गाउँमा विद्युत आपुर्ती महिनौसम्म ठप्प रहने गथ्र्यो । ट्रान्सफर्मर बनाएर जडान गर्ने र पुनः जल्ने समस्याले गर्दा दुवै गाउँका वासिन्दाहरु पीडित रहनुपर्ने बाध्यता थियो । छपकीवासीको आरोप थियो ‘भथौलका वासिन्दा हुकिङ्ग गरेर अत्यधिक विद्युत चुहावट गरिरहेको छ जसका कारण ट्रान्सफर्मरमा ओभर लोड भएर जल्ने गरेको छ ।’ यस्तै आरोप भथौलका वासिन्दाले छपकीवालामाथि लगाउँदैआएको थियो । छपकीका वासिन्दाले भथौलको विद्युत आपुर्ति बन्द गरिदिने गरेका कारण पटक–पटक विवाद हुँदैआएको थियो । पछिल्लो पटक समेत तीन–चार महिना अघि ट्रान्सफर्मर पड्किँदा करिब डेढ महिनासम्म दुवै गाउँमा कुटानी–पिसानीसमेत प्रभावित रह्यो ।
पटक–पटक ट्रान्सफर्मर जल्ने समस्याबाट आजित विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख रामउदगार साहले ‘दुवै टोलका वासिन्दालाई हुकिङ्ग गरेर विद्युत चोरी गर्न बन्द गरेर मिटर जडान गर्नु र चोरी नियन्त्रणको प्रतिवद्धता आएमात्र नयाँ ट्रान्सफर्मर जडान हुन्छ’ भनेपछि त्यहाँका वासिन्दा सोच्न बाध्य भए । दुवै गाउँका युवाहरु छलफल गरेर विद्युत चुहावट नियन्त्रण समिति बनाउँदै प्रत्येक घरमा मिटर जडान जडान गर्न प्रतिवद्ध भए । गाउँमा कसैले हुकिङ्ग गरेको पाइएमा ५ हजार रुपैयाँ जरिवाना समेत तोके । हुकिङ्ग गरेर खेतबारीमा मोटर चलाउँदैआएकाहरुलाई समेत कृषि मिटर लिएर मात्र चलाउन उर्दी नै जारी गरेर युवाहरुले अभियान नै चलाए ।
चोरी नियन्त्रण गर्न दुवै टोलमा युवाहरुले अभियान चलाएपछि कार्यालय प्रमुख साहले मिटरको अभाव रहे पनि घरायसी र कृषि प्रयोजनकालागि तत्कालै मिटर उपलब्ध गराउने प्रतिवद्धता जनाए । त्यसपछि धमाधम मिटरकालागि निवेदन दिनेहरुको ओइरो नै लाग्यो । प्राधिकरणले पुनः ट्रान्फर्मर जडान गरे विद्युत सुचारु गरेपछि युवाहरुले चेकजाँच गर्ने कार्यलाई कडाईका साथ अगाडि बढाए । १८ ओटा मात्र मिटर रहेको भथौलमा हाल ६० भन्दा बढी विद्युत मिटर जडान भईसकेको छ भने छपकीमा करिब ४० ओटा मिटर रहेकोमा हाल सय नाघेको छ । 
तीन महिनायता ट्रान्सफर्मर जलेर अध्यारोमा बस्नुपर्ने र विद्युत प्राधिकरण धाउनुपर्ने समस्याबाट दुवै गाउँका वासिन्दा मुक्त भएका छन् । प्रायःजसो हुकिङ्ग गरेर विद्युत प्रयोग गर्ने उक्त गाउँका वासिन्दाले गर्वकासाथ स्थानीय पत्रकार विनय कुमार लाल कर्ण मार्फत नेपाल विद्युत प्राधिकरणका प्रमुख साहसहितका कर्मचारीलाई गाउँमा आउन आग्रह गरे ।
प्राधिकरण प्रमुखले ई. अभिनव झा, ई. आनन्द यादवसहितका कर्मचारीको टोलीले दुवै गाउँको सोमवार स्थलगत अवलोकन गरेका छन् । प्राधिकरण प्रमुखसमेतको टोलीले स्थानीयवासीले निम्न माध्यमिक विद्यालय छपकी प्राङ्गणमा एक कार्यक्रम आयोजना गरी फूलको माला लगाएर स्वागत गरेका छन् ।
स्थानीयवासिन्दाले पहिलेको भन्दा विद्युत सेवामा व्यापक सुधार भएको भन्दै साँझको बेला समेत नियमित सेवा दिन आग्रह गरेका छन् । उनीहरुले नयाँ बस्तीमा सेवा विस्तार, पोल गाडिएको ठाउँमा तार जडान गर्न, पोलहरुको मर्मत सुधार र कृषकहरुले मिटर लिईसक्दा पनि खेतसम्म विद्युतको पोल जडानकालागि पहल गरिदिन माग गरेका छन् ।
कार्यालय प्रमुख साहले अत्यधिक हुकिङ्ग हुने गाउँको रुपमा चर्चा पाएको दुवै गाउँ शत प्रतिशत विद्युत चोरीमुक्त भएकोमा समितिहरु तथा स्थानीयवासिन्दालाई धन्यवाद दिए । खुशी हुँदै उनले भथौलकालागि छुट्टै ५० केभीएको ट्रान्सफर्मर एक महिनाभित्र जडान गर्ने, पोल गाडिएको तर तार जडान नभएको ठाउँको विषयमा अविलम्ब विवरण बुझाए तार जडान गर्ने, मर्मत सुधार सम्वन्धि कार्य तत्काल थाल्ने, नयाँ बस्तीमा विद्युत विस्तार गर्ने तथा छपकी र भथौलकालागि सिंचाई प्रयोजनमा आउँदो बजेटमा प्राथमिकतामा राखी यसैवर्ष १० ओटा पोल किसानको खेतसम्म पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । ग्राहकहरुको सेवाकालागि आफू तत्पर रहेको भन्दै अन्य गाउँका वासिन्दाले समेत छपकी भथौलबाट पाठ सिक्नुपर्ने उनले बताए ।
कार्यक्रममा गाविसका पूर्व अध्यक्ष नेवालाल यादव, छेदी यादव, चौठी मण्डल, छपकी समितिका अध्यक्ष चन्द्रनारायण इशर, नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य विनय कुमार लाल कर्ण, महासंघका केन्द्रीय पार्षद् एवम् संघीय प्रेस फोरमका जिल्ला अध्यक्ष श्यामसुन्दर यादव, भथौल समितिका सिंहेश्वर साह, राजकुमार विश्वासलगायतको उपस्थिति रहेको थियो ।
यता विद्युत प्राधिकरणले विद्युत चोरी नियन्त्रण अभियानका क्रममा जिल्लाको विभिन्न गाउँबाट २१९ जनालाई पक्राउ गरिसकेको छ । उनीहरुबाट जरिवाना वापत करिब २१ लाख रुपैयाँ राजश्व संकलन भएको छ । जिल्लामा ५९ प्रतिशत चुहावट हुँदैआएकोमा हाल ५१ प्रतिशतमा झरेको कार्यालय प्रमुख साहले जानकारी दिए ।