राजविराज, ५ मंसिर । सद्भावना पार्टीका महासचिव मनिष कुमार सुमनले शहिदको रगतलाई खेर जान नदिन आफूहरुले जस्तोसुकै सङ्घर्ष गर्न तयार रहेको बताएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले आइतवार राजविराजमा आयोजना गरेको शहिद स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । मोर्चासँग गरिएका प्रतिवद्धता कार्यान्वयनमा ढिलाई भईरहेकोप्रति आक्रोश व्यक्त गर्दै उनले भने ‘हामीले दिएको पन्ध्र दिने अल्टिमेटमको समयावधिभित्र संविधान संशोधन प्रस्ताव पेश नगरिए बाध्य भएर सशक्त आन्दोलनमा उत्रिन्छौं ।’ संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा हालसम्म संयमित भएर प्रस्तुत हुँदैआएको प्रष्ट पार्दै प्रमुख अतिथि सुमनले आफूहरुको धैर्यता र संयम्ताको बाँध टुटे यसको परिणाम राज्यले ठूलै मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।
तेस्रो मधेश आन्दोलनका शहिद नागेश्वर यादवकी पत्नी सुषमा देवी यादव, विरेन्द्र रामकी पत्नी बबिता राम र दिलिप साहकी पत्नी पूनम साहसमेतको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका वक्ताहरुले शहिदहरुको बलिदानी खेर जान नदिने प्रतिवद्धता व्यक्त गर्दै मधेशको माग सम्बोधन गर्न राज्यलाई बाध्य पार्ने बताए ।
कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एवम् राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साह, राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र कुमार मण्डल, सद्भावना पार्टीका केन्द्रीय सदस्यहरु सत्यनारायण यादव, दिपेन्द्र प्रसाद चौधरी, दिनेश यादव, नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य सुरेश कुमार सिंह, तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष सतिश कुमार सिंह, मधेशी जन अधिकार फोरम गणतान्त्रिकका केन्द्रीय सदस्य हरेराम यादवलगायतले मन्तव्य व्यक्त गरे ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका सप्तरी संयोजक अमरनाथ मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन तेजनारायण यादवले गरे । सोही कार्यक्रममा शहिद पत्नीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
यसअघि मोर्चाका केन्द्रीय तथा जिल्ला नेताहरुको एक टोलीले शहिद नागेश्वर यादवको जन्मस्थान जमुनी मधेपुरा–९ लक्ष्मीपुर स्थित समाधिस्थल पुगेर श्रद्धासुमन अर्पण गरेका छन् ।