• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
विधुत चोरी गरी प्रयोग गर्ने दश जना पक्राउ

राजविराज, ५ मंसिर । सप्तरीमा प्रहरी र विधुत प्राधिकरणको सयुक्त टोलीले विधुत चोरी गरेर प्रयोग गर्ने दश जनालाई पक्राउ गरी आइतवार कार्वाही शुरु गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको सकरपुरा–७ का झुडि मुखिया, रामदेव साह, विनोद कुमार मुखिया, सुरज मुखिया, कोचाबखारी–३ का नन्द नारायण दास, वैधनाथ साह, कट्टीका सुरज राणा सिहं, बमनगामाकट्टी–८ का राजेन्द्र प्रसाद यादव, सकलदेव यादव र महेशपुरा–९ का पुलाकी मण्डल छन् । आइतवार दिउँसो विधुत प्राधिकरणको कार्यालय, राजविराज र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट अनुगमनमा निस्केको टोलीले उनीहरुलाई हुकिङ गरी विधुत चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।
पक्राउ परेका उपर विधुत कार्यालयबाट विधुत चोरी नियन्त्रण ऐन अन्तर्गत कारवाही शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यसैगरी जिल्लाको छिन्नमस्ता गाविस २ बाट भन्सार छलेर ल्याएको एक बोरा गहुँको विऊ बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय सखडाबाट गस्तीमा रहेको प्रहरीले मोटरसाइकलमा राखि भारततर्फ ल्याउँदै गरेको बिऊसहित बिआर–७–जे–२४६६ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो । बरामद बिऊसहित मोटरसाइकल आवश्यक कारवाहीकालागी तिलाठी भन्सार कार्यालयमा बुझाइएको छ ।