राजविराज, ३ मंसिर । प्रधान न्यायाधीश सुशीला कार्कीले न्यायालयमा न्यायाधीशको नियुक्ति समावेशी र समानुपातिक आधारमा हुनु जरुरी रहेको बताएकी छिन् ।
उच्च अदालत जनकपुरको राजविराज ईजलास निरीक्षणका क्रममा शुक्रवार राजविराज पुगेकी उनले सञ्चारकर्मीहरुसित कुराकानी गर्दै यस्तो बताएकी हुन् । ‘न्यायालयमा पनि न्यायाधीशको समानुपातिक र समावेशी हुनु जरुरी छ’ उनले भनिन् ‘कानून र संविधानले निर्दिष्ट गरेको कुरा कार्यान्वयन हुनुपर्छ तर महिलाहरुलाई घुम्टो ओढाएर नपढाएर कहाँ हुन्छ ? पढाउनुपरयो नि ।’ 
जोकोहीलाई न्यायाधीश बनाएर नहुने भन्दै प्रधानन्यायाधीश कार्कीले भनिन् ‘मन्त्री र न्यायाधीशको नियुक्तिलाई एकै समान रुपले हेर्न नमिल्दैन, भाषण गर्न जानेर मात्र न्यायाधीश हुने होइन, न्याय सम्पादनमा पोख्त भई कार्यक्षमता पनि हुँदा मात्र न्यायाधीश बनिने हो ।’
न्याय क्षेत्रमा महिला सहभागिता अझैं न्यून रहेको बताउँदै उनले पिछडिएको क्षेत्रलाई पनि सोही रुपमा समेटिनुपर्नेमा जोड दिईन् । संविधान अझैं पूर्ण रुपले कार्यान्वयन नभईसकेको अवस्थामा पनि अदालतको व्यवस्थापन तत्कालै गरेर जनतालाई न्याय दिन आफू प्रयत्नशील रहेको बताउँदै उनले न्यायमा सहज पहुँचकालागि बीरगञ्ज र ओखलढुङ्गामा उच्च अदालतको ईजलाश राखिएको स्पष्ट पारिन् । बीरगञ्ज र ओखलढुङ्गामा उच्च अदालतको ईजलाश राखिएको प्रसङ्ग दोहो¥याउँदै उनले भनिन् ‘राजनीतिक दलहरु बीच देखिएको असमझदारीले गर्दा एक वर्ष वितिसक्दा पनि कार्यान्वयन हुन नसकिरहेको अवस्थामा अदालतको कामकार्वाहीलाई रोकेर राख्न मिल्दैन ।’
न्यायालयबाट मुद्दा हार्दैमा घुस खुवायो भनी गरिने टिकाटिप्पणीको सत्यता नहुने भन्दै प्रधानन्यायाधीश कार्कीले विकृती भए त्यसलाई न्युनिकरण गर्न सकिने बताईन् । उनले अदालतमा एक पक्षको जीत तथा एक पक्षको हार स्वाभाविक हुने भएकोले कतिपय अवस्थामा अदालतमाथि नै प्रश्नचिन्ह उठाउनु गलत रहेको तर्क गर्दै भनिन् ‘मुद्दा छिनोफानो भएपछि पक्षले निवेदकलाई सही कुरा बताउनुको साटो लेनदेनसँग जोडेर अनावश्यक तर्क राखेर न्यायालयलाई बदनाम गर्ने कार्यहरु भईरहेको छ, यो कार्य सर्वथा गलत छ ।’
न्यायाधीश नियुक्ति दलीय भागबण्डाको आधारमा भईरहेको छ नि ? सञ्चारकर्मीहरुद्वारा सोधिएको जिज्ञासामा प्रधानन्यायाधीश कार्कीले भनिन् ‘कुनै पनि व्यक्ति राजनीति भन्दा अछुतो छैन, विगतमा जुनसुकै दलीय आस्थामा रहे पनि न्यायालयको जिम्मेवारी वहन गरिसकेपछि न्यायाधीशले विगतको विचार सिद्धान्तलाई छोडेर आउने हो, स्वच्छ र निष्पक्ष रुपमा न्याय सम्पादन गर्नुपर्दछ । अदालतहरुमा कार्यरत न्यायाधीशहरुको आवास, सुरक्षालगायतका सवालमा आफूहरु गम्भीर रहेको उनले बताईन ।
प्रधान न्यायाधीश कार्कीले सप्तरीसहित विभिन्न जिल्लाका न्यायाधीश, रजिष्ट्रारलगायतका कर्मचारीहरु भेंटघाट गरेका छन् । सोही क्रममा अदालतको व्यवस्थापन, सेवासुविधा, भौतिक पूर्वाधारलगायतका विषयहरुबारे जानकारी लिएकी छिन् ।
यस अघि प्रधान न्यायाधीश कार्की सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्तामा दर्शन तथा पूजाआजा गरेका छन् ।



