राजविराज, १ मंसिर । विगत १५ वर्षदेखि जातीय छुवाछुत र सामाजिक विभेद विरुद्धको अभियानमा लाग्दैआएका युक्तिलाल मरिक यतिबेला एलएलबीको परीक्षामा सहभागी हुँदैछन् ।
स्थानीय महेन्द्र विन्देश्वरी वहुमुखि क्याम्पस राजविराजमा बुधवारदेखि शुरु भएको एलएलबी प्रथम वर्षको परीक्षामा उनी सहभागी भएका हुन् । दलितहरुमा पनि सबैभन्दा अपहेलित डोम समुदायका मरिकले एलएलबीको परीक्षा उतीर्ण भएपछि आफैं ल फर्म खोलेर विभेदमा परेका दलितहरुकोलागि वकालत गर्ने लक्ष्य राखेका छन् ।
देशमा राजनीतिक परिवर्तन आए पनि डोम जातीको अझैं न्यायमा सहज पहुँच नभएको कारणले आफूमा कानून पढ्ने ईच्छा जागेको उनको भनाई छ । २०४० सालमा एसएलसी उतीर्ण गरेका उनले घर व्यवहारको बोझ र आर्थिक समस्याका कारण १६ वर्षसम्म उच्च शिक्षा पढ्न पाएनन् । २०६९ सालमा महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस राजविराजबाट मानविकीमा स्नातक गरेपछि अहिले एलएलबी –कानूनतर्फ स्नातक)को परीक्षा दिन थालेका हुन् । ‘सम्पत्तिको नाममा छिन्नमस्ता–९ मा झुप्रो र चार कट्ठा मात्र जग्गा छ’ उनले भने ‘सकि नसकी पढाई खर्च जुटाउने गरेको छु ।’
आफ्नो पढाईलाई बीचमा रोकेर भए पनि उनले छोराछोरीलाई भने पढाउन जोड दिँदैआएका छन् । उनी स्वयम् डोम समुदायबाट जिल्लामा स्नातक गर्ने एक्ला हुन् भने माइला छोरा दिनेश एसएलसीमा प्रथम श्रेणीमा पास गर्ने पहिलो हुन् । दिनेशले सप्तरीकै जनता माध्यमिक विद्यालय खुदीबखारीबाट ६४ प्रतिशत अंक ल्याई एसएलसी उतीर्ण गरेपछि अहिले विज्ञानतर्फको ११ कक्षामा पढ्दैछन् । दिनेशलाई डाक्टर बनाउने युक्तिको योजना छ । जेठा छोरा दिलिप बीएड तथा कान्छा नितिश ९ कक्षामा पढ्दैछन् ।
युक्ति र छोराहरुको पढाई खर्च जुटाउनकालागि सहयोगी भएकी छिन् उनकी धर्मपत्नी फुर्ती देवी मरिक । फुर्तीले डोमहरुको पुख्र्यौली पेशा बाँसका सामग्री (छिटी, ढकिया, चँगेरा, सुपली, दौरा, कोनियाँ आदि) तयार गरेर त्यसबाट आएको आम्दानीले आफूहरुको पढाई खर्चमा सहयोग गरेको उनले बताए । जातीय उत्थानकालागि डोम समुदायले शिक्षामा जोड दिनु जरुरी रहेको बुझेर आफूले सकीनसकी छोराहरुलाई समेत पढाउन ध्यान दिएको युक्तिको भनाई छ ।
२०६८ सालको जनगणना अनुसार डोमहरुको कुल जनसंख्या १३ हजार २ सय ६८ तथा साक्षरताको प्रतिशत १३ मात्र छ ।