राजकरण महतो, बर्दिबास । महोत्तरीको पशुपतिनगर–४ का ६७ वर्षीय बहादुर महतो र उनकी श्रीमती ६३ वर्षीया मनतोरिया अनि यी दुई दम्पत्तिका एक मात्र छोरा ३८ वर्षीय दुःखी महतो धेरै ठूलो दुःख र पीडाले छ्पटाइरहेका छन् । समस्यैसमस्याको चाङले यी तीनजनाको परिवार थिचिएको छ । बहादुर महतो पाँच वर्षदेखि दृष्टिविहीन भएका छन् । नाम बहादुर भए पनि नियतिले उनलाई अहिले जीवन निर्वाहका लागि अरुमा निर्भर हुन बाध्य बनाइदिएको छ ।
उनको हरेक दिन कोही सहयोग गर्न आउँछन् भन्ने आशामा बित्ने गरेको छ । पिसाबसम्बन्धी रोगले पनि पीडित उनी के छ हालचाल भनी पंक्तिकारले सोध्दा प्रत्युत्तरमा भन्छन् ‘के गर्ने, आँखा देख्तिन । बाँचे पनि मरेको झैं लाग्छ मलाई ।’ एक त दृष्टिविहिन त्यसमाथि पिसाबसम्बन्धी रोगी बहादुर रेखदेख गर्ने श्रीमती मनतोरीया घरव्यवहारले बाहिर गएको बेला ओछ्यानमै दिसा पिसाब गर्न बाध्य हुन्छन् ।
बहादुरको एक मात्र छोरा दुःखी महतो जन्मजात अपांङ्ग अनि लाटो छ । दुःखीको पालन पोषण गर्दै आएका बहादुर विगत् पाँच वर्षदेखि अन्धो भएपछि छोरो दुःखीको जीवन खतरामा परेको छ । बहादुरकी ६३ वर्षीया श्रीमती मनतोरीया देवी कोइरी महतो एक्लैले श्रीमान् र छोरालाई गाउँघरमा भाँडा मस्काएर, चुलोचौका, घाँसदाउरा र गोठको गोबर सोहोरेर छोरा र श्रीमानलाई पाल्दै आएकी छन् । टिठलाग्दो कुरा के भने पति र छोराको जीवन बचाइराख्ने मनतोरिया स्वयं विरामी छिन् । उनी दमा– श्वासप्रश्वाससम्बन्धी रोगले पीडित छिन् ।
बडो दुःखले सकि नसकी छरछिमेककोमा काम गरेर मालिकले दया गरेर दिएको अन्नपात र भातरोटीबाट पति र छोराको भरणपोषण गरिरहेकी छन् । जुन दिन मनतोरीयालाई दमाले हैरान गर्दा काममा नजाँदा त्यो दिन पति र छोरो भोकै बस्नुपर्छ । भैंसी गोठ भनौं, चाहे भान्साघर भनौं, चाहे सुत्ने घर भनौं एउटा सानो जीर्ण अवस्थाको ढोकाबिनाको झुपडी छ उनीहरुको । ‘पानी पर्दा घरको छानो चुहिन्छ, घाम लाग्दा प्रकाश भित्रै छिर्छ ।’ मनतोरियाले पंक्तिकारसंगको कुराकानीमा आँसु पुछ्दै भनिन् ‘नसोध्नुस् बाबु, घरको टाटी पानीले खतम बनाइसक्यो । सर्प, विच्छी ओछ्यानै पुग्छ ।’
राती कुकुर बिरालो पनि सँगै सुतेको विहान उठ्दा थाहा हुने र झस्किने गरेको बताउँदै मनतोरियाले याचना गर्दै भनिन्, ‘बाबु कसैले घर बनाइदिए हुन्थ्यो । खान मागेर पनि खाइहाल्छु । ओत लाग्ने ठाउँ त चाहियो नि घरमा ढोका नहुँदा केही दिन पहिले श्रीमानको आँखाको उपचारकोलागि एक एक सिक्का जम्मा गरेर राखेको १२ हजार चोरले चोरी गरेर लगेको पीडित मनतोरीयाले भक्कानिदै टाउकोमा हात राखेर भनिन ‘भगवान् पनि कहाँ गयो रु हामी जस्ता गरिबको रुपैंया चोरी गर्नेलाई कठोर सजाई किन नदिएको सुरक्षाकालागि नागरिकता, मतदाता परिचयपत्र, भएको रुपैयाँ–पैसा घरभित्रै माटोमुनि गाडेर राख्न बाध्य छन् मनतोरिया । घरमा गाडेको अवस्थामा रहेको नागरिकता र मतदाता परिचय खनेर देखाउँदै उनले सञ्चारकर्मीसंग भने, ‘यी हेर्नुस् पत्रकार बाबु, चोरको डरले घरमा भएको कागज र केही रुपैंया पैसा जमिन मुनि गाडेर राख्छु ।’
सम्पतीको नाममा एउटा भैंसी, दुई वटा पाडापाडी र एउटा सानो खरले छाएको झुपडी भन्दा अरु केही छैन मनतोरीयाको परिवारसँग । बोल्दा बोल्दै रुघा खोकीले ग्रस्त मनतोरीया खोकी गर्दै भनिन्, ‘हामीसँग पैसा छैन के गरी उपचार गराउँ ।’ गोठमै सुत्ने गरेका दृष्टिविहिन बहादुर भन्छन्, ‘बाबु, राती सुतेको बेला भैंसीले जीउमै गोबराई दिन्छ पिसाब गरिदिन्छ । लुगा भिजाई दिन्छ ।’ उनले आफूहरुलाई बस्ने राम्रो घर बनाइदिन मानवसेवामा लाग्ने सबैसँग अनुरोध गरेका छन् ।
६ वर्ष अघि मनतोरीयाले गाउँकै साँहुसंग लिएको १३ हजार ऋण तिर्न नसक्दा उनको ६ कठ्ठा खेतियोग्य जमिन साहुले आफ्नो बनाएपछि उनको पीडा झन बल्झिदैगएको छ । स्थानीय अमृतकुमार महतो भन्छन्, ‘साहुको नाममा रजिष्टेसन पास गरेर घर खर्च चलाउन मनतोरीयाले साहुसँग सयकडा तीनका दरले ऋण लिएकी थिइन् । केही वर्षपछिको अन्तरालमा त्यो ऋण साँवा र ब्याज गरी ५० हजार पुग्यो । मनतोरीयाले साहुलाई ५० हजारमध्ये २० हजार दिन जाँदा साहुले सबै रकम एक मुष्ठ चाहियो भन्दै लिन मानेनन् । मनतोरीया विरामी हुँदा पैसा तिर्न सकेनन् । पछि ऋणमै मनतोरीयाको जग्गा साहुले मिनाहा गरि आफ्नो बनायो ।’
मनतोरीयाले छोरा दुःखीले राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ता पनि घरपरिवार चलाउन झिनो आधार दिएको बताउँछिन् । उनी भन्छिन्, ‘जसलाई ममता लाग्छ उनीहरुले नै खानेकुरा र लुगाहरु हामीलाई दिन्छन् ।’ सबै कुराको अभावै अभावमा मनतोरीयाका परिवारले गुजारा चलाउन बाध्य छन् । न खानेपानी, न बिजुलीबत्ती, न शौचालय, न अन्नपात, न औषधीमूलो गर्ने रुपैंयाँ, न लताकपडा हाल्ने सामर्थ, न सहारा दिने कोही, उल्टै ऐलानी जग्गामा बसोबास गर्दै आएका उनीहरुलाई टाठाबाठाहरुले घर छोड्न दवाब दिइरहेका छन् ।
जन्मदा खालि हात आयौं, यो संसारबाट विदा लिदा खालि हात नै जान्छौं । यहाँबाट बोकेर लानु केही छैन । कसैले मर्ने बेलामा कमाएको सम्पत्ति लान पनि सकेका छैन । त्यसैले मानव भएर यस्ता वृद्धवृद्धाहरुको मानवको हितका निम्ति सोंच्नु पर्ने पशुपतिनगरका नागरिक समाजका अगुवा भिमबहादुर आले मगरले बताए । उनले भने, ‘मन्दिरमा राखिएको निर्जिव पत्थरको अगाडी लम्पसार परेर केही पाइने वाला छैन । त्यसैले पीडाबाट छट्पटाइरहेका, सहारा खोजिरहेका भगवान्रुपी सजीव मानवको जीवन बचाउन हात बढाउन सबैले अग्रसरता लिनुपर्छ, साँचो धर्म यही हो ।’
मानवसेवा मानिसको अन्तिम इच्छा हो । त्यसैले मानव सेवामा सबै जना आ–आफ्नौ ठाउँबाट जुटौं र यी वृद्धवृद्धाको घर पूर्ण निर्माण गर्न, बहादुर महतोको आँखा र पिसाब सम्बन्धी रोगको उपचारमा सहयोग गरौं । दुःखी र बहादुरलाई हेरचाह गर्ने मनतोरीयाको पनि दमको विमारीको उपचारका लागि सहयोग जुटाइदिन सर्वसाधारण सबैमा आग्रह गरिन्छ ।
सहयोग गर्न चाहनु हुने महानुभावले ९८१४८१२५३० मा सम्पर्क गर्नु होला । साभारः भूमी अनलाइन