राजविराज, २८ कात्तिक । उच्च शिक्षा क्षेत्रमा व्याप्त समस्याबारे अध्ययन गर्न गठित उपसमितिको ७ सदस्यीय टोलीले आइतवार राजविराज स्थित महेन्द्र विन्देश्वरी वहुमुखि क्याम्पसको अवलोकन गरेका छन् ।
महिला वालवालिका ज्येष्ठ नागरीक तथा समाज कल्याण संसदीय समिति अन्तर्गतको उपसमितिले क्याम्पसको स्थलगत अवलोकन गरेका हुन् । २०४२ सालदेखि ८ वर्षसम्म आफैले अध्ययन गरेको महेन्द्र विन्देश्वरी वहुमुखी क्याम्पसको अवस्थाबारे महिला, वालवालिका, ज्येष्ठ नागरीक तथा समाज कल्याण समितिकी सभापति रञ्जुकुमारी ठाकुरले जानकारी लिएकी छिन् ।
वि.सं. २०१४ सालमा स्थापित उक्त क्याम्पसको जिर्ण भवन, पुस्तकालयको अवस्था दयनिय, शौचालय लथालिङ्ग, सरसफाईको अभाव र विद्यार्थी सङ्ख्या पनि घटदै गएको लगायतको विषयमा उनले चासो राखिन् । उनले भनिन्– ‘देशकै पुरानो यस क्याम्पसको हविगत देखेर रुन मन लागेको छ ।’ टोलीमा उपसमितिका संयोजक गणेशमान गुरुङ्ग, सदस्य निशा साह, सप्तरी क्षेत्र नं. ५ का सभासद तेजुलाल चौधरी, आनन्दी पन्त, रामहरी सुवेदी, समितिका उप सचिव कान्छा दुलाल सहभागी थिए ।
टोलीलाई क्याम्पस प्रमुख डा. सर्वेशचन्द्र मिश्रले क्याम्पसको अवस्थाबारे जानकारी गराएका छन् । प्रमुख मिश्रले क्याम्पसमा प्राध्यापकहरुको तलव वाहेक त्रिभुवन विश्व विद्यालयवाट अन्य कुनै सुविधा नदिएको र यसवारे आग्रह गर्दा आन्तरीक श्रोतवाटै मिलाउनु भन्ने जवाफ दिने गरेको बताए ।
सभापति ठाकुरले एक सय १७ विगहा जग्गा भएको क्याम्पसको स्तरोन्नतीका लागि क्याम्पस प्रशासनको समेत सक्रियता जरुरी रहेको भन्दै आफुले पनि सुधारका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले क्याम्पसको दुरावस्था प्रति चिन्ता ब्यक्त गर्दै स्तरोन्नतीकालागि आफुले तन, मन र धनले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।