राजविराज, २७ कात्तिक । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् सप्तरी क्षेत्र नम्वर–३ का सांसद उमेशकुमार यादवले ‘जनतासँग सांसद’ अभियान शुभारम्भको घोषणा गरेका छन् ।
प्रेस सेन्टर नेपाल सप्तरीद्वारा शुक्रवार आयोजित पत्रकार सम्मेलनमार्फत उनले अभियानको घोषणा गरेका हुन् । यादवले आफनो संसदिय निर्वाचन क्षेत्र नं. ३ मा एक वर्षे अभियान अन्तर्गत पहिलो चरणको कार्यक्रम घोषणा गर्दै मंसिरदेखि फागुन मसान्तसम्मको प्रथम चरणमा आफना क्षेत्रका प्रत्येक जनताको घरदैलोमा पुगी विकासीय कामको अवस्था र सुधार गर्नुपर्ने पक्षबारे जानकरी लिने बताए ।
यादवले आफु सांसदमा निर्वाचित भएपछि सुरु गरेका कामलाई निरन्तरता दिनुका साथै सरसफाई, साक्षरता, वृक्षारोपण, युवा परिचालन लगायत सरकारी कार्यालय र निर्माण ब्यवसायीका कारण काममा ढिलासुस्ती नहोस भन्नका लागि शान्तिपुर्ण आन्दोलन गर्न समेत पछि नपर्ने उद्घोष गरे । उनले जनताका लागि हुने विकासीय काममा जनताको समेत निगरानीका लागि आग्रह गर्दै जनतासँग गरेका प्रतिवद्धता कति पुरा गरेँ, कति बाँकी छ, के कति गल्ती गरें यस विषयमा समेत बुझ्न तथा सल्लाह सुझावकालागि जनताको घरदैलोमा जान लागेका हौं ।’
अंगिकृत नागरिकलाई पनि राज्यका उच्च पद दिनुपर्ने ब्यवस्था मधेशी मोर्चाको सामुहिक माग नरहेको बताउँदै निवर्तमान सिंचाई मन्त्री यादवले भने ‘अंगिकृतलाई उच्च पद दिने कुरा कुनै हालतमा पनि सम्भव छैन, मोर्चाको पनि सामुहिक माग होईन, अंगिकृत नागरिक्ताको विषय कुनै दल विशेषको वा ब्यक्ति विशेषको कुरा हुन सक्ला ।’ उनले यस मामिलामा कुनै हालतमा सहमत हुन नसक्ने भन्दै यसले मधेशका भुमिपुत्रहरुलाई समस्यामा पार्न सक्ने दावी गरे ।
अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रश्तावका वारेमा संचारकर्मीहरुले राखेको जिज्ञासामा नेता यादवले स्वेच्छाचारी ढङ्गवाट समानान्तर सरकार चलाउन खोेजेका कारण उनलाई हटाउनुको विकल्प नरहेको बताए । उनले भने–‘लोकमानले मन्त्री, सचिव, राजदुतदेखि कार्यालय सहयोगी नियुक्ति समेतमा हस्तक्षेप गर्न थाले, अदालत र संसदिय समिति समेतको आदेशलाई पनि उलंघन गर्न थालेपछि हटाउनुको विकल्प छैन ।’ आफनै गलत कार्यशैलीका कारण लोकमानको पतन सुरु भएको नेता यादवले तर्क गरे ।