• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सरकारी कार्यालयहरुको गतिविधि पारदर्शी नरहेको गुनासो

सरकारी कार्यालयहरुको गतिविधि पारदर्शी नरहेको गुनासो

राजविराज, २६ कार्तिक । सप्तरी जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयहरुको गतिविधि पारदर्शी नरहेको भन्दै एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् ।

जिल्ला विकास समिति सप्तरीको सहयोगमा सञ्चार यात्रा नेपालको समन्वयमा शुक्रवार राजविराजमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुले यस्तो गुनासो गरेका हुन् । कार्यालयहरुमा विभिन्न शिर्षकमा आएको रकम तथा सुविधाबारे सर्वसाधारण जनता अनभिज्ञ रहेको भन्दै कामकार्वाहीलाई पारदर्शी बनाउनुपर्नेमा सहभागीहरुले जोड दिए ।
सार्वजनिक सुनुवाई कार्याक्रममा सहभागीहरुले कार्यालयमा समयमा कर्मचारी नआएको, कामकाजमा ढिलासुस्ती, आर्थिक अनियमितता, गाविसमा सचिव नबस्नु, शिक्षक दरबन्दी मिलान तथा जिल्लाअन्तर सरुवामा रकमको चलखेल, विद्युत आपुर्ती, सामाजिक लेखा परीक्षण नहुनु, जिल्ला विकास समितिमा पेश्की फर्छयौट हुन नसक्नु, सूचना डेस्कको अभाव, आइएनजिहरुको गतिविधि पारदर्शी नभएको, उपस्वास्थ्य चौकीहरुमा औषधी नहुनु, जिल्ला कृषि सेवा कार्यालयमा आएको बीऊबिजनको दुरुपयोग, दलित छात्रबृतिको दुरुपयोग, लक्षित वर्गको रकम लगायतका विषयवस्तुहरु प्राथमिकताकासाथ उठाईएको छ । सहभागीहरुले कमीकमजोरीलाई तत्काल सुधार्नसमेत सरोकारवाला कार्यालयहरुको ध्यानाकर्षण गराएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेलले कार्यक्रममा विविध विषयमा उठेका जिज्ञासाहरुको जवाफ दिँदै आगामी दिनमा सुधार गर्दैजाने प्रतिवद्धता व्यक्त गरे । कार्यालयमा बसेर गाविस सचिवहरुले काम नगर्ने परम्परा सप्तरी जिल्लामा पनि कायम रहेको भन्दै त्यसमा सुधार आउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मधेशी दलित विकाश महासंघका केन्द्रीय अध्यक्ष विश्वेश्वर रजक, सदभावना पार्टीका केन्द्रीय सदस्यहरु दिपेन्द्रकुमार चौधरी, दिनेश यादव, तराई मधेश लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्य साधना झा, मधेशी जन अधिकार फोरम गणतान्त्रिकका केन्द्रीय सदस्य विशेश्वर यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष सतिश कुमार सिंह, नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्रवणकुमार देव, सप्तरी जागरणका सम्पादक वैद्यनाथ यादव, पत्रकार हेमशंकर सिंह, सञ्चार यात्रा नेपालकी सल्लाहकार करुणा झा, युवा नेता पार्थो सरकार, सरसफाई अभियानका अगुवा मोहनकुमार यादव, प्रधानाध्यापक जवाहरलाल यादव, समाजसेवी जागेश्वर राय, महिला अधिकारकर्मी आभासेतु सिंह, छिन्नमस्ता एफएमका स्टेसन म्यानेजर शिवप्रताप साह, डोम उत्थान समाजका अध्यक्ष युक्तिलाल मरिक, शिक्षक कैलास यादव, सगरमाथा अपाङ्ग कल्याण संघका अध्यक्ष वलदेव मण्डल, पत्रकार भुपेन्द्र मण्डल, दिनानाथ यादव, युवा नेता पार्थो सरकार, दिनानाथ यादव, विद्यार्थी नेता तारकेश्वर यादव लगायतले पनि विभिन्न विषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा जिल्ला वन कार्यालयका प्रमुख धीरेन्द्र कुमार सिंह, जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डे, महिला तथा वालवालिका कार्यालयकी प्रमुख चन्द्रकला श्रेष्ठ, खाने पानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख लोकेन्द्र कुमार यादव, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख रामउद्गार साह, जिल्ला कृषि विकास कार्यालयका प्रमुख भगिरथ यादव, जिल्ला हुलाक कार्यालयका प्रमुख दक्षनारायण श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राधाकृष्ण पोखरेललगायतका कार्यक्रममा सहभागीहरुले उठाएका जिज्ञासाको जवाफ दिएका थिए । सञ्चार यात्रा नेपालका सल्लाहकार व्यासशंकर उपाध्यायको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन अध्यक्ष श्यामसुन्दर यादवले गरे ।