• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रजातान्त्रिक योद्धा मधुकान्त सिंह जीवन–मरणको दोसाँधमाः नेपाली काँग्रेस बेखबर

प्रजातान्त्रिक योद्धा मधुकान्त सिंह जीवन–मरणको दोसाँधमाः नेपाली काँग्रेस बेखबर

राजविराज, २५ कार्तिक । देशमा प्रजातन्त्रकोलागि कठोर सङ्घर्षका क्रममा वर्षौ जेलनेल भोगेका ७२ वर्षिय मधुकान्त सिंह विगत केही वर्षदेखि थला परेका छन् ।
सप्तरीको बभनगामाकट्टी–५ स्थित आफ्नै घरमा कलेजो सम्वन्धि रोगले ग्रस्त भई उनी थला परेका हुन् । जिल्लाका वरिष्ठ नेता सिंहलाई यतिबेला उपचार खर्चको समस्या छ । जीवन–मृत्युको दोसाँधमा पुग्दासमेत आफुलाई सरकार र पार्टीका नेता समेतले वास्ता नराखेको उनको गुनासो रहेको छ । madhukant-singh-2
राजविराज कारागारमा पनि दुई वर्ष बन्दी जीवन बिताएका सिंहले काँग्रेसको आह्वानमा भएका हरेक आन्दोलनमा सक्रियतापूर्वक नेतृत्व गरे पनि अहिले उनको उपचारकालागि वास्ता नगर्नु बिडम्बना नै भएको छिमेकी गाविस को. मधेपुराका निवर्तमान अध्यक्ष सुरेश प्रसाद सिंहले बताए । उनले भने ‘दुख पाएका, त्याग तपस्या गरेका कार्यकर्तालाई पार्टीले उपेक्षा गर्ने हो भने त्यस्तो पार्टी कसरी उँभो लाग्ला ?’
वि.सं. २०१७ सालकै किशोरावस्थादेखि नेपाली काँग्रेसबाट तत्कालीन पञ्चायती व्यवस्था विरुद्ध लागेको आरोपमा आफूले काँग्रेसका नेता स्व. सुवर्ण शम्शेर, स्व. कृष्ण प्रसाद भट्टराई, स्व. गिरिजा प्रसाद कोइराला, शेरवहादुर देउवा, रामचन्द्र पौडेललगायतसँग ८ वर्ष निर्वासित जीवन बिताउनु परेको उनले बताए । उनले भने ‘तीन वर्षसम्म भट्टराई, देउवा र पौडेलसँग नख्खु जेलमा सँगै बसेको हुँ ।’ काँग्रेस सत्तामा रहेको अवस्थामा आफू थला पर्दा पनि पार्टी तथा पार्टीका नेताहरुले समेत चासोसम्म लिन नआएको उनले दुखेसो सुनाए ।
जेठो छोरा ईन्द्रभुषणका अनुसार वरिष्ठ नेता सिंहको उपचारको उपचारमा मासिक ३२ हजार खर्च भईरहेको छ । जग्गा जमिन बेचेर उपचार गराईरहेको जानकारी दिँदै उनले हालसम्म ३२ लाख खर्च भईसकेको र अब यसपछिको खर्च कसरी जुटाउने भनी चिन्ता बढेको सञ्चारकर्मीसमक्ष पीडा पोखे ।
‘म त यस्तो अवस्थामा छँदैछु’ उनले भने ‘देशसँगै काँग्रेसको पनि अवस्था ठिक देख्दिन, विपी, भट्टराई जस्ता नेता जिवितै रहेको भए देश र पार्टीको हविगत यस्तो हुने थिएन्’ नेता सिंहले भने ‘देश र जनताकालागि धेरै सपुतले बलिदानी दिए, हज्जारौंले जेलनेल भोगे तर हालसम्म जनताले मुक्ति पाउन नसक्नु दुःखद हो ।’ वर्तमान अवस्थामा नेताहरु थप जिम्मेवार भएर असन्तुष्टिलाई सम्वोधन गरी देशलाई थप सङ्कटबाट जोगाउनुपर्ने उनको सुझाव छ ।