राजविराज, २२ कार्तिक । सप्तरीको बनौली गाउँ विकास समितिको वडा नम्वर–४ स्थित बौना चौकमा एउटा टिनको कटेरो छ । हुलाकी सडकको छेउमै रहेको त्यस कटेरोमा सायदै कसैको नजर नपर्ला । कारण हो त्यसलाई रङ्गीचङ्गी पाराले रङ्गाइनु । उक्त कटेरोमा विद्यापति कृषि सहकारी संस्था यसै वर्षदेखि संचालनमा आएको हो । विरेन्द्र साह हुन् त्यसका अध्यक्ष ।
साह विगत ८ वर्षदेखि पत्रकारिता पेशामा आबद्ध रहँदै आएका छन् । तर, विडम्बना ! उनलाई पत्रकारिता पेशाले हातमुख जोर्न पनि समस्या भो । ‘कयौ छाक भोकभोकै बसेरपनि पेशामा लागिरहेँ, तर चरम आर्थिक अभावका कारण टिक्न सकिन, साथीभाइको सरसल्लाहमा यो सहकारी संस्था खोलेको हुँ ।’
बिराटनगरमा एक वर्ष बसेर साहले कलेज टाइम्स पत्रिकाबाट पत्रकारिता सुरु गरे । बिराटनगरमा पनि उनलाई आर्थिक समस्याले छोडेन । ‘राजविराज आएर न्यूज टुडे, हिमालय टाइम्स, ताजा दैनिक, जनआक्रोश, ग्रीन मधेशलगायतका पत्रिकामा काम गरे, तर अवस्था उस्तै रह्यो’ उनले भने ।
राजविराजस्थित पाराडाइज कलेजबाट १२ कक्षा उतीर्ण गरेपछि मोडेल कलेजबाट स्नातकसम्म अध्ययन गरेका साह सहकारीतातिर लागे पनि फुर्सदको समयमा पत्रकारिता गर्ने गरेको बताउँछन् । ‘बेलाबखत फुटकर लेखरचना लेख्दै छु’ उनले भने । २०७३ साल असारमा सहकारी सुरु गर्दा ५ हजार ४ सय रुपैयाबाट थालनी गरेको बताउँदै उनले अहिले १० लाख ५० हजार बराबरको कारोबार हुने गरेको अनुभव सुनाए । 
सहकारी संस्थामा बाहिरबाट पठाउने रकमसमेत भुक्तानी दिने व्यवस्था भएका कारण छोटो समयमानै आसपासका क्षेत्रका मानिसहरुको आकर्षण बढेको उनको भनाई छ । बोदे बर्साइन, बनौली, बनौला, अर्नाहा, इनर्वा फूलबरियालगायतका गाविसबाट वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढी रहेको र बाहिरबाट पठाएको रकम भुक्तानी लिन आउने ग्राहकहरु पनि क्रमशः बढ्दै गएको उनले अनुभव सुनाए । आर्थिक कारोबारकालागि बनौली आसपासका क्षेत्रका वासिन्दालाई सुविधा भएको कारण उनीहरुबाट आफूले राम्रो सहयोगसमेत पाइरहेको साहको भनाई छ ।