राजविराज, २० कात्तिक । स्थानीय तह पुनःसंरचनाबारे जिल्ला विकास समिति सप्तरीको सभाकक्षमा शनिवार आयोजना गरिएको कार्यक्रम मधेशवादी दलले बिथोलेका छन् ।
जिल्ला विकास समिति सप्तरीको सभाकक्षमा सुरु भएको कार्यक्रम १ घण्टा नपुग्दै मधेशवादी दलका नेताहरुले विथोलेका हुन् । छलफलको शुभारम्भ गर्दै स्थानीय तह पुनःसंरचना आयोग जिल्ला प्राविधिक सहयोग समितिका तर्फवाट स्थानीय विकास अधिकारी सुदेव कुमार पोखरेलले स्थानीय तहको पुनःसंरचनाका विषयमा आ–आफनो सुझाव दिन आग्रह गरेका थिए ।
सोही क्रममा राष्ट्रिय मधेश समाजवादी पार्टीका नेता गजेन्द्र कुमार मण्डलले संविधानमा संघियताकै विषयमा कुरा नमिलेको, प्रादेशिक सिमाकै विषयमा विवाद रहेको अवस्थामा छलफलको कुनै औचित्य नरहेको प्रतिक्रिया दिएका छन् । सदभावना पार्टीका जिल्ला अध्यक्ष सुनिलकुमार झाले संघियताको विषय टुङ्गो नलागेसम्म यस्तो छलफल औचित्यहिन हुने जानकारी दिए । नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश कुमार यादवले संघियताको विषयमा मधेशको असन्तुष्टि कायम रहेको भन्दै पहिले त्यसलाई मिलाउनुपर्ने आवश्यकता औंल्याए ।
स्थानीय विकास अधिकारी पोखरेलले छलफलमा विरोध गर्नेहरुको उपस्थिती वलियो र कार्यक्रम सफल वनाउनुपर्छ भन्नेहरुको उपस्थिती कमजोर भएकाले कार्यक्रम भाँडिएको जनाएका छन् ।