राजविराज, १५ कार्तिक । विगत केही महिनादेखि आन्दोलन शिथिल भए पनि राज्यप्रति मधेशी जनताको आक्रोशमा भने कमी आएको छैन । शोषण, दमन एवम् विभेद विरुद्ध कुनै नकुनै माध्यमबाट मधेशी जनताको भावना अभिव्यक्त भएको पाईन्छ ।
राज्यप्रति आक्रोश व्यक्त गर्ने विभिन्न माध्यम तथा शैलीहरुमध्ये मूर्तीकला पनि एक हो । विगतका वर्ष झैं यसवर्ष पनि सप्तरी सदरमुकाम राजविराजमा दिपावली अर्थात लक्ष्मीपूजाको अवसरमा राज्य विरुद्धको आक्रोश मूर्तीहरुमा पाईएको छ । 
राजविराज नगरपालिका वडा नम्वर– सिद्धि गणेश चौकमा युवाहरुद्वारा पूजाकालागि निर्माण गरिएका मूर्तीहरु झैं स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक वैज्ञानिक डा. सिके राउतको मूर्तीसमेत निर्माण गरिएको छ । दुबै हातमा हथकडी लगाईएको पूर्ण कदको मूर्ती निर्माण गरिएको छ । उक्त मूर्तीमा ‘अभिव्यक्ति स्वतन्त्रता कायम गर’ लेखिएको प्लेकार्ड टाँसिएको छ । लक्ष्मीपूजाका अवसरमा निर्माण गरिएको उक्त मूर्ती मुख्य आकर्षण बन्न पुगेको छ । उक्त मूर्ती बोरियाका युवा मूर्तीकार प्रकाश मण्डलले तयार पारेका हुन् ।
डा. राउतको मूर्ती किन निर्माण गरेको भनी जिज्ञासामा पूजा समितिका पदाधिकारीहरुले नेपाल सरकारको दमन, शोषण एवम् उत्पीडन विरुद्ध सचेतना प्रवाह गर्ने उद्देश्यले यस्तो मूर्ती निर्माण गरिएको जानकारी दिए । गतवर्ष समेत सिद्धि गणेश युवा समितिले राज्यद्वारा डा. राउतलाई गरिएको व्यवहारको विरोध गर्दै यस्तै मूर्ती निर्माण गरेका थिए ।
मधेश आन्दोलनसँग सम्वन्धित मूर्ती राजविराज स्थित वैष्णवी काली मन्दिरमा माँ वैष्णवी काली पूजा यवा समितिले समेत निर्माण गरेको छ । मधेशको माग पुरा हुनुपर्ने माग गर्दै मूर्ती निर्माण गरिएको छ । अर्थात नेपालको संविधानमा रहेको असन्तुष्टिलाई सम्बोधन गर्न मूर्तीकलाको माध्यमबाट राज्यसँग आग्रह गरेको छ । वैष्णवी काली मन्दिर परिसरमा गतवर्ष तत्कालिन प्रधानमन्त्रीको केपी शर्मा ओली, नेपाली सेना र आन्दोलनकारी मधेशी जनताको मूर्ती निर्माण गरिएको थियो । 