विराटनगर, १५ कार्तिक । झापाको गरामनिमा आइतबार दियोबाट आगो सल्किंदा एक घरमा आगलागी भएको छ ।
गरामनि २ झोडा बस्ने डम्बर बहादुर राईको पूजा कोठामा बालेको दियोबाट राती ८ बजे अचानक आगलागी भएको हो । आगलागीबाट राईको पुजा कोठामा राखिएको नगद, सुन, चाँदीका गहना र भाडावतर्न समेत जलेका छन् । आगोले उनको अन्दाजी ९ लाख वरावरको क्षति गरेको छ । आगलागी प्रहरी चौकी गरामनिबाट गएको टोलीको सहयोगमा आधा घण्टापश्चात नियन्त्रणमा आएको छ ।
त्यसैगरी ताप्लेजुङको साँघु गाविस ४ बस्ने बलबहादुर तामाङको घरमा बालेको मैनबत्तीबाट राती ९ बजेतिर आगलागी हुँदा उनको टाटी बेराले बनेको घर जलेको छ । आगलागीबाट तामाङको घर तथा घरभित्र रहेको सामान जल्दा अन्दाजी ५० हजार वरावरको क्षति भएको छ । आगलागी प्रहरी चौकी साँघुबाट गएको टोलीको सहयोगमा ०९ः४५ बजे राती नियन्त्रणमा आएको छ ।
यता सुनसरीको महेन्द्रनगर ४ बस्ने गोबिन्द दाहालको घरमा आइतबार साँझ विद्युत लाईन सर्ट भई आगलागी हूँदा नगद ३० हजार, १ तोला सुन, १० तोला चाँदी र लत्ताकपडा समेत जलेको छ । आगलागीबाट दाहालको अन्दाजी १० लाख वरावरको क्षति भएको अनुमान गरिएको छ । आगलागी इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गएको टोलीकको सहयोगमा नियन्त्रणमा आएको छ ।
यसैगरी उदयपुरको लिम्पाटार–२ बस्ने बिमला कार्कीको गोठमा आइतबार साँझ अचानक आगलागी हूँदा बिमला कार्कीको गोठ, छिमेकी राजन कार्की, महेश कार्की र तिलक कार्कीको तीन वटा घर जलेको छ । आगलागीबाट गोठ तथा घर जल्दा अन्दाजी २५ लाख वरावरको क्षति भएको छ । आगलागी प्रहरी चौकी सोरुङछविसेबाट गएको टोलीले स्थानीयको सहयोगमा नियन्त्रण गरेका छन् ।