राजविराज, १३ कार्तिक । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारबीच संविधान संशोधनको विषयमा हुने वार्तामा आफूहरु गम्भीर रुपमा प्रस्तुत हुने बताएका छन् ।
राजविराजमा शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग टेलिफोनमा वार्तावारे आफूसँग कुराकानी भएको जानकारी दिँदै उनले भने ‘सरकारसँग वार्ताबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँग आजमात्रै कुराकानी भएको छ, वार्ताको तयारीकालागि आजै काठमाण्डौ प्रस्थान गर्दैछु ।’
मोर्चासँग हुने वार्तामा आफूहरुले झापादेखि कञ्चनपुरसम्मको भूभागलाई मधेश थरुहट प्रदेश हुनुपर्ने प्रमुख एजेण्डाको रुपमा अघि सारिने उनले पत्रकार सम्मेलनमा जानकारी दिए । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एक घटकका नेता समेत रहेका उनले भने ‘झापादेखि नारायणी नदीसम्म मधेश प्रदेश र नारायणी नदीदेखि कञ्चनपुरसम्म थरुहट मधेश हुनुपर्ने मोर्चाको क्लियर कट धारणा छ ।’
मधेशी, आदिवासी, जनजातीको समस्या समस्या समस्या समाधान नभएसम्म स्थानीय निकायको निर्वाचन हुन नसक्ने दावी गर्दै अध्यक्ष महतोले आन्दोलनरत पक्षको मागलाई सम्बोधन गरी देशलाई निकास दिनुपर्ने बताए । सिमांकनको विवाद विवादित जिल्लाका मधेशी र थारुसँगको जनमतको आधारमा समाधान गर्नुपर्ने अन्तिम विकल्प रहेको धारणा राखे । झापादेखि कंचनपुरसम्ममा मधेश र थारुहट गरी २ प्रदेश वनाउनुपर्नेमा जोड दिएका अध्यक्ष महतोले भने– मधेशका विवादित ५ जिल्लामा वढि विवाद देखिएको छ, ती जिल्लामा वसोवास गर्ने मधेशी र थारुलाई सोध्नोस, कुन प्रदेशमा वस्न चाहन्छन? उनीहरुको जे जवाफ हुन्छ हामी सवै मान्न तयार छौं ।’ मधेश र थरुहटका जनतालाई जवरजस्ति पहाडि प्रदेशमा गाभ्ने प्रयास गरिएको दोसारोपण गर्दै यसलाई नसच्याए मुलुक थप गहिरो संकटमा पर्ने उनले चेतावनी दिए ।
राज्य पुनरसंरचना आयोगको प्रतिवेदनले देखाएको जिल्ला विभाजनलाई आधार वनाएर पनि सिमांकन विवादलाई टुङ्गो लगाउन सकिने अर्को उपाय भएको बताए । वर्तमान सरकारले संविधान संशोधन गरेर मुलुकमा उत्पन्न जटिल समस्या सम्वोधन नगरे प्राप्त सवै उपलब्धि गुम्ने खतरातर्फ संकेत गर्दै अध्यक्ष महतोले छठ पर्व अगावै मधेशको समस्या समाधानका लागि पहल नगरीए छठ पर्वपछि भीषण आन्दोलन हुने चेतावनी दिए ।
प्रेस मञ्च सप्तरीका अध्यक्ष शुभचन्द्र झाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा सदभावनाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, अमरनाथ मण्डल, जिल्ला अध्यक्ष सुनिलकुमार झा, विद्यार्थी मञ्चका केन्द्रीय सदस्य किशोर कुमार यादवलगायतको समेत उपस्थिति थियो ।
प्रेस मञ्च सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंहयादवलगायतका केन्दीय नेताहरु सहभागी रहनुभएको थियो ।