राजविराज, ११ कात्तिक । नेपाली कांग्रेसकी केन्द्रीय कोषाध्यक्ष समेत रहेकी शान्ति तथा पुनर्निमाण मन्त्री सितादेवी यादवले संविधान संशोधन बिना कार्यान्वयनको गुञ्जायस नरहेको बताएकी छिन् ।
नेपाली कांग्रेस नगर समितिले राजविराजमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएकी हुन् । मधेशी जनताको जायज माग सम्वोधन हुनुपर्नेमा जोड दिँदै उनले भनिन् ‘संविधान संशोधन बिना कार्यान्वनको कुनै गुञ्जायस छैन, संशोधन आवश्यक रहेकोले नेपाली कांग्रेस गम्भीर छ ।’ ६ महिनाको लामो मधेश आन्दोलनका क्रममा ५४ जनाले सहादत दिएको भन्दै सहिदको बलिदानीलाई खेर जान नदिने प्रतिवद्धता समेत उनले व्यक्त गरिन् ।
अधिकार प्राप्तिको लागि भएको आन्दोलनमा मधेशको धेरै रगत वगिसकेको भन्दै अव पनि संविधान संसोधनमा विलम्व गरे त्यसको घाटा कांग्रेसलाई नै हुने उनले दावी गरिन् । नागरिक्ता, समावेशी, समानुपातिक प्रतिनिधित्व, सिमांकन लगायतका सवालमा मधेशको असन्तुष्टि रहेको भन्दै पार्टीका तत्कालिन सभापति तथा प्रधानमन्त्री सुशिल कोईरालाकै पालामा पहिलो चोटि संशोधन गरिएको संविधानका वाँकी विषयलाई वर्तमान नेतृत्वले पुर्णता दिनुपर्ने उनको तर्क छ ।
‘मधेश कांग्रेसको मुटु हो’ उनले भनिन्–‘मधेशमा दिगो राजनितिका लागि त्याहाको असन्तुष्टि मेटने काम पनि कांग्रेसकै हो ।’ स्थानीयदेखि केन्द्र तहसम्म भ्रष्टाचार व्याप्त रहेकोले यसलाई निर्मुल नपारेसम्म सुन्दर शान्त र समृद्ध नेपालको कल्पना गर्न नसकिने बताउँदै भ्रष्टाचार विरुद्ध सशक्त रुपमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरिन् ।
नेपाली कांग्रेस नगर सभापति शम्भुलाल देकको अध्यक्षतामा आयोजित कार्यक्रममा सांसदद्वय सकलदेव सुतिहार, तेजुलाल चौधरी, कांग्रेससका जिल्ला सभापति दिनेश कुमार यादव, नेपाल ट्रेड युनियन, काँग्रेस पूर्व केन्द्रीय उपाध्यक्ष रीता खनाल, जिल्ला विकास समिति सप्तरीका पूर्व सभापति बिरबल बिराजी, वरिष्ठ नेता विकेश्वर विमल यादव, नीलम कर्ण, अनिल कुमार देव, नेपाल ट्रेड युनियन काँग्रेस अध्यक्ष मनोज मण्डल, नेपाल महिला संघ सभापति गीता यादव, पूर्व केन्द्रीय सदस्य नन्दकिशोर यादव, नेताहरु अर्जुन प्रसाद साह, मुक्तिनाथ चौधरी, भगवती यादव, उमेश मिश्र, जिल्ला सचिव रामकुमार यादव, रामुप्रसाद यादव, नेता ललन गुप्ता, बद्री महात्मान, रामप्रसाद मण्डल, जितेन्द्र यादव, रामदेव साह, शिवनारायण चौधरीलगायतले मन्तव्य व्यक्त गरे । युवा नेता सब्बीर आजमद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य नगर सचिव शत्रुधन साहले गरे ।