राजिवराज, १० कार्तिक । जिल्ला विकास समिति सप्तरीका नव आगन्तुक स्थानीय विकास अधिकारी सुदेव पोखरेलले बुधवार आयोजना गरेको परिचयात्मक कार्यक्रम सप्तरीका पत्रकाहरुले बहिष्कार गरेका छन् ।
चार बजेको समयमा जिल्ला विकास समितिको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा अविश्वास प्रस्ताव लगाईएका महासंघका अध्यक्ष प्रकाश खतिवडालाई अध्यक्षको हैसियतमा आसन ग्रहण गराएपछि पत्रकारहरुले कार्यक्रम वहिष्कार गरेका हुन् । कार्यक्रम सञ्चालन गर्ने क्रममा जिल्ला विकास समितिका कर्मचारी कमलेश्वर विराजीले खतिवडालाई अतिथि आसन ग्रहण गराएलगत्तै पत्रकारहरुले कार्यक्रम बहिष्कार गर्दै बाहिरिएका थिए । आफूहरुले अध्यक्षमाथि लगाईएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकोले कार्यक्रममा बस्न नमिल्ने भन्दै बहिष्कार गरेको जनाईएको छ ।
कार्यक्रमबाट प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, कान्तिपुर दैनिकका सम्वाददाता अवधेश कुमार झा, कान्तिपुर टेलिभिजनका सम्वाददाता रामनारायण विश्वास, नेपाल टेलिभिजनका सप्तरी सम्वाददाता समेत रहेका न्यूज टुडेका सम्पादक श्यामसुृन्दर यादव, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्रवण कुमार देव, एबिसी टेलिभिजनका सम्वाददाता एवम् राजविराज दैनिकका कार्यकारी सम्पादक नवीन गुप्ता, एभिन्युजका सम्वाददाता समेत रहेका सप्तरी जागरणका सम्पादक बैद्यनाथ यादव, नागरिक राष्ट्रिय दैनिकका जितेन्द्र कुमार झालगायतका पत्रकार महासंघका सदस्य बाहिरिएका थिए । कार्यक्रम बहिष्कारको घोषणा भएपछि छिन्नमस्ता एफएमका स्टेशन म्यानेजर शिवप्रताप साह, छिन्नमस्ता हालचालकी सम्पादक प्रिया सिंह थारु, राजविराज टुडेका प्रमुख सम्वाददाता धर्मपाल राउत, कल्याण पोष्ट दैनिकका कार्यकारी सम्पादक धु्रवकुमार मण्डल, ग्रीन मधेशका परिष कर्णलगायतका पत्रकारहरुले समेत कार्यक्रम बहिष्कार गरे । यस्तै कार्यक्रममा सहभागी हुन गईरहेका मिथिला साप्ताहिकका सम्पादक शुभचन्द्र झासहित अन्य पत्रकार बाटोबाटै फर्किए ।
यता अध्यक्ष खतिवडासहित केही पत्रकारहरुका बीच स्थानीय विकास अधिकारी पोखरेलले परिचयात्मक कार्यक्रम आयोजना गरेको जानकारी प्राप्त भएको छ । स्मरण रहोस् नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा विगत एक वर्ष तीन महिनादेखि तालाबन्दी कायमै रहेको छ । महासंघमा हाल कायम रहेका कुल ९९ सदस्यमध्ये ६४ जनाले खतिवडामाथि लगाईएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् ।