राजविराज, ९ कातिक । हरुवाचरुवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष बलदेव रामले देशमा राजनीतिक परिवर्तनहरु भए पनि हरुवाचरुवाको कथाव्यथा भने जस्ताको त्यस्तै रहेको बताएका छन् ।
राजविराजमा मङ्गलवारदेखि शुरु भएको हरुवाचरुवाहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजनीतिक परिवर्तनसँगै आफूहरुको हक अधिकार सुनिश्चित होला भनी आश गरेका हरुवाचरुवाहरुको दुखपीडा कहालीलाग्दो अवस्था रहेको चर्चा गर्दै उनले भने ‘संघर्ष र बलिदानीमा समेत हरुवाचरुवा एवम् श्रमिक मजदुरहरुले महत्वपूर्ण भूमिका निभाएको छ तर अधिकारको सवालमा अझैं पछाडि छ ।
कमैयाहरुको मुक्ति भए पनि सरकारको ध्यान हरुवाचरुवाको मुक्तिकालागि नगएको गुनासो गर्दै उनले भने ‘लाखौं नेपाली जनता अझैं पनि हरुवाचरुवाको रुपमा गिरहत(जमिन्दार)को दास झैं काम गर्न बाध्य छन् ।’ व्यवस्थित बसोबासको व्यवस्था नहुनु भूमिहिनकालागि अभिशाप नै भएको भन्दै उनले भने ‘भूमिहिन जनतालाई जग्गा दिने कुरा भाषणमै सिमित छ, हरुवाचरुवाहरु पुस्तौदेखि ऋणमै डुबेका छन् ।’ हजुरबुवाले खाएको ऋण आजिवन हली बस्दा पनि नातिका पालासम्म चुक्ता नभएको दुखेसो सुनाउँदै उनले यसकालागि विशेष आयोगमार्फत हरुवाचरुवाको समुचित व्यवस्थापन र ऋण मुक्तिकालागि माग गरेका छन् ।
हरुवाचरुवा मञ्च सप्तरीका जिल्ला अध्यक्ष दर्शन मण्डलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा पूर्व सभासद् असर्फी सदा, मञ्चका गणेश राम, नेकपा एमालेका जिल्ला अध्यक्ष गोबिन्द न्यौपाने, नेपाली काँग्रेसका जिल्ला सचिव रामकुमार यादव, कमैया आन्दोलनका अगुवा यज्ञराज चौधरी, कम्लरी आन्दोलनकी सोनी चौधरी, बालाराम भट्टराई, रत्नकाजी बज्राचार्य, मतदाता अधिकार मञ्चका जिल्ला अध्यक्ष पार्थो सरकारलगायतले मन्तव्य व्यक्त गरे ।
हरुवा चरुवालाई क्षतिपूर्ति, पुनःस्थापना र मुक्तिको घोषणा, संविधान कार्यान्वयन र अधिकारका लागि दुई दिने प्रथम राष्ट्रिय सम्मेलन आयोजना गरिएको मञ्चका मणिलाल विश्वकर्माले बताए । उनका अनुसार मध्य तराईको पर्सादेखि पूर्वी तराईको सुनसरी जिल्लासम्म विभिन्न गाउँ बस्तीमा बसोवास गरिरहेका करिब एक लाखको हाराहारीमा रहेको छ ।
राजविराज स्थित साह सेवा सदनमा सम्मेलनको बन्द सत्रमा सांगठनिक, भावी योजना र समसामयिक विषयमा छलफल गरी केन्द्रीय समिति चयन गरिने छ । हलिया, कमैया र कमलहरी अगुवाहरुको सहभागितामा बन्द सत्र सञ्चालन हुने जनाईएको छ । सम्मेलनले हरुवा चरुवाको मुक्तिका लागि राजविराज घोषणा पत्र जारी गरिने जनाईएको छ ।
उद्घाटन समारोहमा बाल क्लवका बालबालिकाहरुले नृत्य समेत प्रस्तुत गरेका छन् ।