• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

हरुवाचरुवा अधिकार मञ्चको प्रथम राष्ट्रिय सम्मेलन राजविराजमा

हरुवाचरुवा अधिकार मञ्चको प्रथम राष्ट्रिय सम्मेलन राजविराजमा

राजविराज, ७ कातिक । हरुवा चरुवा अधिकार मञ्चको प्रथम राष्ट्रिय सम्मेलन नेपालमै सबैभन्दा बढी दलितहरुको बसोवास रहेको सप्तरीको राजविराजमा कार्तिक ९ गते हुने भएको छ ।

हरुवा चरुवालाई क्षतिपूर्ति, पुनःस्थापना र मुक्तिको घोषणा, संविधान कार्यान्वयन र अधिकारका लागि प्रथम राष्ट्रिय सम्मेलन आयोजना हुन लागेको हो । मध्य तराईको पर्सादेखि पूर्वी तराईको सुनसरी जिल्लासम्म विभिन्न गाउँ बस्तीमा बसोवास गरिरहेका करिब एक लाखको हाराहारीमा रहेका हरुवा चरुवाहरुको संगठन हरुवा चरुवा अधिकार मञ्चद्वारा राष्ट्रिय सम्मेलन आयोजना हुन लागेको आयोजक समितिका सचिव गणेश रामले जानकारी दिएका छन् । उनका अनुसार राजविराजस्थित शिव मन्दिर प्राङ्गणमा विशेषतः सिरहा, सप्तरी जिल्लाका गाउँ गाउँबाट आउने करिब पाँच हजार हरुवा चरुवा बँधुवा कृषि मजदूरहरुको सहभागितामा र्यालीसहित सम्मेलनको कार्तिक ९ गते दिउँसो १ बजे भव्य उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनको उद्घाटनपछि राजविराज कल्टु दास पोखरी नजिक रहेको साह सेवा सदनमा सम्मेलनको बन्द सत्र संचालन गरी सांगठनिक, भावी योजना र समसामयिक विषयमा छलफल र पारित गरी केन्द्रीय समिति चयन गरिने छ । मध्य तराईको पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी र सुनसरी जिल्लाबाट चयन भएर आएका पाँच÷ पाँच जनाका दरले ४५ जना प्रतिनिधि पर्यवेक्षक र हरुवा चरुवाहरुकै नियति भोगिरहेका मध्य र सुदूर पश्चिम नेपालका मुक्त घोषणा गरिएका हलिया, कमैया र कमलहरी अगुवाहरुको सहभागितामा बन्द सत्र सञ्चालन हुने जनाईएको छ । सम्मेलनले हरुवा चरुवाको मुक्तिका लागि राजविराज घोषणा पत्र जारी गर्दै सम्मेलनको कार्तिक १० गते बिहान समापन गर्ने योजना रहेको आयोजक समितिले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।