राजविराज, ६ कार्तिक । राष्ट्रपति विद्या देवी भण्डारीले विगत दुई दशकदेखि देशमा अस्थिरता, द्वन्द्व र अराजक स्थिति कायम रहँदैआएकोले आफूले दिगो शान्तिको कामना गरेका छन् ।
सप्तरीको छिन्नमस्ता गाउँ विकास समितिमा अवस्थित सखडेश्वरी छिन्नमस्ता भगवती शक्तिपीठमा शनिवार पूजाआजा पश्चात आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएकी हुन् । एक आपसमा भाइचारा एवम् सद्भाव अझ मजबुत हुनुपर्नेमा जोड दिँदै उनले उनले भनिन् ‘‘मैले पूजाआजाका क्रममा मातासँग देशमा दिगो शान्तिको कामना गरेको छु र अब उपरान्त देशमा स्थायी शान्ति हुनेमा म आशावादी छु ।
देशमा स्थायी शान्तिकालागि देशका सम्पूर्ण नागरिक आ–आफ्नो स्थानबाट जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै विविधता सबैले स्वीकार गर्नुपर्ने विचार व्यक्त गरिन् । हिमाल, पहाड र तराईमा छुट्टाछुट्टै संस्कृति रहे पनि सबैको भावना एउटै रहेको उनले बताईन् । हिमाल, पहाड र तराईमा बस्ने सम्पूर्ण नागरिक एउटै बृक्षको हाँगा जस्तै भएको बताउँदै उनले भनिन् ‘प्राकृतिक विविधताले भरिएको देशको हिमाल, पहाड र तराईमा बसोबास गर्ने सम्पूर्ण नागरिक एउटै बृक्षको हाँगा जस्तै हो ।’
सप्तरीवासीको तर्फबाट छिन्नमस्ता गाविसका अध्यक्ष सत्यनारायण यादवले दिएको १३ बुँदे अनुरोध–पत्र स्वीकार गर्दै आफूले सम्वन्धित निकायलाई तत्काल कार्यान्वयनकालागि निर्देशन दिने प्रतिवद्धता व्यक्त गरिन् । छिन्नमस्ता शक्तिपीठलाई धार्मिक पर्यटन क्षेत्रको घोषणा, राजविराज विमानस्थल सञ्चालन, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र, अञ्चल अस्पतालको स्तरोन्नती तथा व्यवस्थापन, भारतको निर्मलीसँग रेल–वे लाइन जोडनुपर्ने, बन्द रहेका छोटी भन्सार सञ्चालन हुनपर्नेलगायतका मागहरु पुरा हुने प्रतिवद्धता राष्ट्रपति भण्डारी गरिन् । उक्त कार्यहरु समयमै सम्पन्न गराउन स्थानीयवासिन्दाले घचघचाउने कार्यलाई निरन्तरता दिनुपर्ने सुझाव समेत उनले दिईन् ।
छिन्नमस्ता शक्तिपीठमा दर्शन तथा पूजाआजा गर्ने आफ्ना प्रबल ईच्छा रहे पनि कार्यव्यस्तताका कारण केही ढिलो भएको बताईन् । स्थानीयवासिन्दा तथा सप्तरीवासीसँग भेटेर आफू अत्यन्तै खुशी भएको राष्ट्रपति भण्डारीले विचार व्यक्त गरिन् ।
आगामी चैत्रमा नेपालमै पहिलो पटक हुन लागेको लक्षचण्डी रुद्र महायज्ञको मण्डपको समेत शिलान्यास गर्नुभयो । मन्दिर समितिको तर्फबाट वहाँलाई अभिनन्दन गर्नुकासाथै मिथिलाको परम्परा अनुसार दही, चिउरा, लड्डु, केरा, स्याउआदिको पाँच ओटा भार समेत दिएर विदाई गरिएको छ । सोही अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकोतर्फबाट ईश्वरीय उपहारसमेत राष्ट्रपति भण्डारीलाई प्रदान गरिएको छ ।
कार्यक्रममा पीठाधीश महाकान्त ठाकुर, शक्तिपीठ संरक्षण सम्वद्र्धन समितिका अध्यक्ष अविनास प्याकुरेल, कार्यवाहक अध्यक्ष रामनारायण यादव, विभिन्न राजनीतिक दलका केन्द्रीय नेता एवम् विभिन्न क्षेत्रसँग सम्वन्धित व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
